बागमती प्रदेशका खेलाडी एवम् राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कालाई ट्र्याक सुट हस्तान्तरण गर्नुहुँदै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारी ।

हेटौंडाः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी बागमती प्रदेश क्रिकेट टिमलाई सहयोग प्रदान गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले शनिबार त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर बागमती प्रदेश क्रिकेट टिमलाई ट्र्याक सुट हस्तान्तरण गर्नुका साथै प्रतियोगिताअन्तर्गत खेल भएको दिन प्रतिखेलाडी दुई हजार रुपैयाँका दरले भत्ता प्रदान गर्नु जानकारी दिनुभएको छ ।

सदस्य सचिव भण्डारीले बागमती प्रदेश क्रिकेट टिमका क्याप्टेन ज्ञानेन्द्र मल्ल, राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्कासहित सबै खेलाडीलाई ट्र्याक सुट हस्तान्तरण गर्नुभएको छ । यस्तै बागमती प्रदेश क्रिकेट एसोसिएसनले प्रतियोगितामा व्याटिङतर्फ शतक प्रहार गर्ने खेलाडीलाई १० हजार रुपैयाँ र अर्धशतक प्रहार गर्ने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरेको छ भने बलिङतर्फ एउटै खेलमा पाँच विकेट लिने बलरलाई पाँच हजार रुपैयाँ नगद तथा तीन विकेट लिने बलरलाई तीन हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको बागमती प्रदेश क्रिकेट एसोसिएसनका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिनुभएको छ । बागमती प्रदेश क्रिकेट एसोसिएसनले प्रत्येक खेलाडीको पाँच लाख रुपैयाँ बराबरको बीमा समेत गरेको छ ।

बागमती प्रदेशमा समावेश भएका मकवानपुरका खेलाडी राम नरेश गिरीलाई ट्र्याक सुट हस्तान्तरण गर्नुहुँदै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारी ।

बागमती प्रदेश टिमका व्यवस्थापक समेत रहनुभएका क्षेत्रीका अनुसार बागमती प्रदेश टिमका सदस्य एवम् राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का लिग चरणको दुई खेल खेलेपछि टि–१० प्रतियोगिता खेल्न दुबई जानेछन् । पारस खड्का दुबई गएपछि मकवानपुरका अर्का खेलाडी रिजन ढकालले खेल्ने मौका पाउने छन् । बागमती प्रदेश टिममा मकवानपुरका राम नरेश गिरि पनि अटाएका छन् भने रिजन ढकाल वैकल्पिक खेलाडीका रुपमा समेटिएका छन् ।

यसअघि बन्द प्रशिक्षणका लागि आव्हान गरिएको २५ जनामा मकवानपुरका राम नरेश गिरि र रिजन ढकालसँगै तक्षक सिम्खडा र विवेक फँयाल पनि समेटिएका थिए । बागमती प्रदेशले आइतबार पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै सोमबार बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशसँग खेल्नेछ । बागमती प्रदेशको समूहमा नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेशसँगै लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ पनि रहेको छ । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरण दुई समूहमा विभाजन गरी आयोजना गरिएको छ । लिग चरणका खेलपछि समूहको प्रथम र दोस्रो हुने टिमले सेमीफाइनल खेल खेल्नेछ । प्रतियोगिता अन्तर्गतका खेलहरु काठमाडौंको त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा भइरहेको छ ।