हेटौंडाः हेटौंडा–१० स्थित फलफूल तथा तरकारी थोकबजारमा यसवर्ष तरुलको बिक्री कम भएको व्यवसायीहरुले बताएका छन् । तरुललाई विशेषगरी जाडो मौसममा खाने गरिन्छ । अझ माघे संक्रान्तिका दिन तरुल खानैपर्ने मान्यता रहेको छ । तर, यसवर्ष माघे संक्रान्तिका लागि पनि गतवर्षको तुलनामा तरुलको बिक्रीमा कमी आएको व्यवसायीको भनाई छ ।
विगतको तुलनामा यसवर्ष तरुलको बिक्रीमा कमी भएको तरकारी तथा फलफुल व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिनुभयो । माघे संक्रान्ति पर्वमा तरुल धेरै बिक्री हुने भएपनि यसवर्ष हेटौंडा बजारमा तरुलको माग कम भएको उहाँले जानकारी दिनुभयो । थोक बजारबाट नै थोरै–थोरै बिक्री भइरहेको उहाँले बताउनुभयो ।
हेटौंडा बजारमा तराईबाट धेरै परिमाणमा तरुल बिक्रीका लागि ल्याउने गरिएको छ । मकवानपुर जिल्लाको भीमफेदी, सुकौरा, निवुवाटारलगायत क्षेत्रबाट पनि तरुल बिक्रीका लागि आउने गरेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । किसानहरुले तरुल बिक्रीका लागि ल्याएपनि सोचेजस्तो बिक्री हुन नसकेको उहाँले बताउनुभयो । आफैंले खेती गरेको तरुलभन्दा वन तरुलको बिक्री बढी हुने गरेको मोक्तानले बताउनुभयो ।
यसवर्ष थोक बजारमा तरुल प्रतिकेजी ५० देखि ७० रुपैयाँसम्म बिक्री भएको मोक्तानले जानकारी दिनुभयो । वन तरुल भने एक सय रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म खुद्रा मूल्यमा बिक्री भइरहेको छ ।
सीएनस्थित तरकारी मन्डीका व्यवसायी संगीता पराजुलीले सर्लाहीबाट तरुल ल्याएर ७० देखि ८० रुपैयाँ प्रतिकेजी खुद्रा बिक्री गरिरहेको भए पनि बिक्री नभई त्यतिकै राख्नुपरेको जानकारी दिनुभयो । यो वर्ष तरुलको व्यापार कम भएको उहाँले बताउनुभयो ।
टीसीएनकै तरकारी व्यवसायी केशरीमाया डंगोलले पुस र माघमा मात्रै तरुलको बिक्री हुने बताउनुभयो । उहाँले पुस र माघ महिनामा बिक्री नभएको तरुल खेर जाने भन्दै गत वर्षको तुलनामा यो वर्ष तरुलको खपत कम भएको बताउनुभयो ।