हेटौंडाः हेटौंडा–४ स्थित ऐतिहासिक विद्यालय भूटनदेवी माध्यमिक विद्यालयको ५५ औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको सभाध्यक्षतामा अभिभावक भेला भएको हो ।

भेलाका प्रमुख अतिथि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयलाई नमूना विद्यालयको रुपमा छनौट गर्न र विद्यालयको भौतिक पूर्वाधार निर्माणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । भेलामा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले भूटनदेवी बागमती प्रदेशकै ऐतिहासिक विद्यालय नमूना विद्यालयको रुपमा छनोट हुन नसक्नु चुनौती रहेको बताउनुभयो । विद्यालयका शिक्षक तथा प्रशासनले सक्दो मिहिनेत गरेर सँगै रहेको आधुनिक राष्ट्रिय माविले भन्दा गुणस्तरी शिक्षा दिएर विद्यार्थी आकर्षित गर्नुपर्ने बताउनुभयो ।

भेलामा विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले विद्यालयको र्वािर्षक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भूटनदेवीलाई बागमती प्रदेशकै नमूना विद्यालय बनाउन देखिएका चुनौती तथा विद्यालयको समस्याबारे प्रधानाध्यापक दाहालले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको थियो ।

भेलाले व्यवस्थापन समितिमा अभिभावकबाट प्रतिनिधित्व हुने दुईजना महिला सदस्यको चयन गरेको छ । अभिभावक भेलाबाट कम्तिमा दुई जना महिलासहित व्यवस्थापन समितिको चार जना सदस्य चयन गर्नुपर्ने व्यवस्थाअनुसार महिला सदस्यतर्फ जानकी शर्मा र लक्ष्मी लामिछानेलाई चयन गरिएको हो । अन्य दुई सदस्यका लागि सहमति नहुँदा चयन गर्न नसकिएको विद्यालयका कर्मचारी बालकृष्ण दाहालले जानकारी दिनुभयो ।

अभिभावक भेलामा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरेको विशेष आतिथ्यता रहेको थियो भने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका निमित्त प्रमुख कृष्ण पौडेल तथा हेटौंडा उपमहानगरपालिकाको शिक्षा अधिक्रृत सुनिता मानन्धरको आतिथ्यता थियो । भेलामा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द दाहाल, वडा सदस्यहरु, विद्यालयका शिक्षकहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको भेलामा विद्यालयका शिक्षक खडानन्द चौलागाईं र रोजमेरी शाहीलाई सम्मान गरिएको थियो । भेलाको व्यवस्थापनमा भूटनदेवी माविका स्काउट शिक्षक तथा विद्यार्थीहरुले सहयोग गरेका थिए ।