हेटौंडाः सुरक्षित वैदेशिक रोजगारसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । एकीकृत ग्रामीण विकास सेवा मकवानपुरले हेटौंडामा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया आयोजना गरेको हो ।
संस्थाकी अध्यक्ष सीता बिष्टको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका समाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, मानव बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरका संयोजक आरती पाठकलगायतको आतिथ्यता रहेको थियो ।
एकीकृत ग्रामीण विकास सेवा मकवानपुरका सचिव मिनराज पौडेलले देशका विभिन्न २० जिल्लामा सञ्चालन भइरहेको सामी परियोजना मकवानपुरका ४ स्थानीय तहमा सञ्चालनमा रहेको जानकारी दिनुभयो । सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श गर्ने उद्देश्यले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको संस्थाका सचिव पौडेलले बताउनुभयो ।
वैदेशिक रोजगारसँग जोडिएका सबल पक्ष, चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गदै अन्तरक्रियामा देशका करिब ५६ प्रतिशत घरमा विप्रेषण भित्रिरहेको बताइएको थियो । देशको कुल गार्हस्थ उत्पादनको करिब २८ प्रतिशतले योगदान पुयोइरहेको वैदेशिक रोजगारीको माध्यमबाट वार्षिक ८ खर्ब रुपैयाँ विप्रेषण भित्रिरहेको जानकारी दिइएको थियो । देशमा हरेक वर्ष ४ लाख ५० हजार श्रम शक्ति उत्पादन भइरहेकोमा ७४ दशमलब ५ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारमा जानेगरेको अन्तरक्रियामा जानकारी दिइएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीले वैदेशिक रोजगारमा जानेहरुले आवश्यक सीप सिकेर सबै प्रक्रिया पूरा गरी जानुपर्ने बताउनुभयो । उहाँले विदेशमा आफूले गर्ने कामको बारेमा सबै जानकारी लिएर नजाँदा विदेशमा अलपत्र पर्नुपर्ने र भनेजस्तो काम तथा तलब नपाइने समस्या नहुने बताउनुभयो । वैदेशिक रोजगारमा गई स्वदेश फर्केकाहरुले वैदेशिक रोजगारमा रहँदा सिकेका सीपको यहीँ सदुपयोग गर्दै आयआर्जन र उत्पादनमा केन्द्रित हुनुपर्ने पुडासैनीले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकका उपमेयर मीनाकुमारी लामाले हेटौंडा उपमहानगरपालिकाभित्र पनि वैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दो क्रममा रहेको बताउनुभयो । उपप्रमुख लामाले वैदेशिक रोजगारमा जाने युवायुवतीहरुलाई लक्षित गर्दै उत्पादन र आयआर्जनसँग जोडेर केही काम गर्न सकिन्छ भन्ने उद्देश्यले उपमहानगरले विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले वैदेशिक रोजगार र विप्रेषणको स्थिति हेर्दा वर्तमान समयमा वैदेशिक रोजगार अर्थतन्त्रको अक्सिजनको रुपमा रहेको बताउनुभयो । अहिले राज्यको अर्थतन्त्रको महत्वपूर्ण स्रोत विप्रेषण भएको सन्र्दभमा सरकारले पनि यसलाई प्राथमिकतासाथ आफ्ना कार्यक्रमहरुमा सम्बोधन गरेको उहाँले बताउनुभयो ।
स्वदेशमै लगानी व्यापक भएर आर्थिक क्रियाकलापहरु बढ्दै गयो भने अन्य देशका मानिसलाई यहीँ आकर्षित गर्न सकिने बताउँदै तिमिल्सनाले अहिले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सरल बनाउँदै भविष्यमा नेपालमै रोजगारीको प्रबन्ध गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।