सानोपोखरा क्लबका पदाधिकारी एवम् शिक्षकहरु स्वेटर वितरणपछि फोटो खिचाउँदै ।

हेटौंडाः हेटौंडा–५, सानोपोखरास्थित खेलकुद तथा सामाजिक विकास मण्डल, सानोपोखरा क्लबले बुधबार मकवानपुरगढी गाउँपालिका १ स्थित रत्नदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई स्वेटर र शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ५ कक्षासम्म पठनपाठन हुने विद्यालयका ९७ जना विद्यार्थीलाई स्वेटर र शैक्षिक सामग्री वितरण गरिएको हो ।

सानोपोखरा क्लबको अक्षयकोषबाट भएको आम्दानी, कोरोना कहरका बेला खाद्यान्न बैंक सञ्चालन गर्दा संकलित सहयोग रकमको बचत र क्लबका सदस्यको सहयोगमा करिब ३६ हजार रुपैयाँ बराबरको स्वेटर तथा शैक्षिक सामग्री सहयोग गरिएको क्लबका अध्यक्ष उमेश महतले जानकारी दिनुभएको छ । उहाँका अनुसार विद्यालयका प्रधानाध्यापक श्यामलाल श्रेष्ठ, वडा सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य शान्ताकुमारी डिम्डुङ, क्लबका सल्लाहकार विशाल राज महत, सहसचिव साहिल राई, सदस्य शंकर राई, विद्यालयका शिक्षकहरुको उपस्थितिमा स्वेटर तथा शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।