सम्झौतापत्रमा हस्ताक्षरपछि सम्झौतापत्र आदान प्रदान गरिँदै ।

हेटौंडाः आगामी माघमा हुने हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई भेडोल लुब्रिकेन्टले सहयोग गर्ने भएको छ । बुधबार भेडोल लुब्रिकेन्टको मकवानपुरका लागि आधिकारिक विक्रेता वियन्सा सप्लायर्सका प्रोप्राइटर विकास नेपाल र आयोजक एफसी विजय युथका सचिव तथा प्रतियोगिता संयोजक राजेश भेटवालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भेडोल लुब्रिकेन्टले ३ लाख रुपैयाँ दिएर प्रतियोगिता आयोजनामा साथ दिएसँगै ‘भेडोल हेटौंडा गोल्डकप’ को नामबाट प्रतियोगिता सञ्चालन हुने संयोजक भेटवालले जानकारी दिनुभयो । सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा एफसी विजय युथका अध्यक्ष सुदीप राजबाहकको पनि उपस्थिति रहेको थियो ।

मकवानपुरमा लोकप्रिय खेल फुटबलमा साथ दिएर पर्याप्त प्रचार भई व्यवसाय प्रवद्र्धनको अवसर हुने भेडोल लुब्रिकेन्टको मकवानपुरका आधिकारिक विक्रेता वियन्सा सप्लायर्सका प्रोप्राइटर विकास नेपालले बताउनुभयो । आगामी माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मकवानपुरको वन विज्ञान क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ । प्रतियोगितामा मकवानपुरका दुई टिमसहित १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा आयोजक एफसी विजय युथ, मकवानपुर–११, वीरगञ्ज युनाइटेड, बागमती युथ क्लब सर्लाही, हर्दी युवा समाज चितवन, वीरगञ्ज युथ एकेडेमी, एफसी रियाले काठमाडौं, सर्लाही जिल्ला फुटबल संघ, सिन्धुली दुधौली स्पोर्टस् क्लब र सेन्ट्रल कलेज बीएफसी चितवनको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।