मकवानपुरकी कलाकार सुनिता लोप्चन आफूले बनाएको मूर्तिबारे मयेर महतलाई जानकारी गराउँदै ।

हेटौंडाः मकवानपुरसहित देशका विभिन्न स्थानका कलाकारले हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति मावि परिसरमा ११ वटा मूर्ति तयार पारेका छन् । विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा पुस १२ गतेबाट सुरु भएको मूर्तिकला कार्यशालामा एकजना महिलासहित १० जना कलाकारले मूर्ति तयार पारेका छन् । सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा मूर्तिकला कार्यशालाको समापन कार्यक्रम भएको छ ।

हेटौंडा–१८, हर्नामाडीकै मूर्तिकार लक्ष्मण भुजेलको समन्वयमा कलाकारहरु सहभागी गराएर आयोजना गरिएको मूर्तिकला कार्यशाला आयोजना गर्दा करिब पाँच लाख रुपैयाँ खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभएको छ । ज्योति माविले आगामी शैक्षिकसत्र २०७८ बाट ललितकला विषयको पठनपाठन समेत सुरुवात गर्ने लक्ष्यसहित मूर्तिकला कार्यशाला गरेको अध्यक्ष रम्तेलको भनाइ छ । यसअघि हर्नामाडीको गुम्बाडाँडामा अन्तर्राष्ट्रिय कलाकारको समेत सहभागितामा मूर्तिकला कार्यशाला आयोजना गर्ने क्रममा अगुवाई गर्नुभएका रम्तेलले हर्नामाडीलाई कलाको गाउँको रुपमा विकसित गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यशालाको समापनको अवसरमा हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँ, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठक, विद्यालयका पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्वविद्यार्थीको सहभागिता रहेको थियो । कार्यशालामा मकवानपुरका लक्ष्मण भुजेल, ओमभक्त भण्डारी, सुनिता लोप्चन, बाबुलाल वाईबा, मानबहादुर बल, झापाका गंगाधर सारु, के.डी. राई उदयपुरका रामचन्द्र पण्डित, ईलामका राजु पिठाकोठे र काठमाडौंका राजन काफ्लेले मूर्ति तयार पार्नुभएको छ ।