हेटौंडाः मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ को चार विद्यालयका १८० जना गरिब, विपन्न तथा आर्थिक अवस्था कमजोर भएको विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । वडा नम्बर ६ भित्र पर्ने ५ वटा विद्यालयका विपन्न तथा गरिब विद्यार्थीलाई चिसोमा न्यानो कपडा वितरण कार्यक्रम अनुसार ४ विद्यालयका १८० जना विद्यार्थीहरुलाई स्वीटर वितरण भएको सनराईज युथ क्लबका सचिव तथा कार्यक्रम संयोजक अशोक स्याङ्तानले जानकारी दिनुभयो ।
वडा नम्बर ६ अन्तर्गत जनक माविका ३० जना विपन्न तथा गरिब बालबालिकाहरुलाई स्वीटर वितरण गर्न बाँकी भएको र एकदुई दिनमै त्यहाँपनि वितरण गरिसक्ने उहाँले जानकारी दिनुभयो । हालसम्म सनराईज युथ क्लबले वडा नम्बर ६ को जालपा मावि, ईश्वरी प्रावि, बालज्योति प्रावि र नबज्योति प्राविमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरिसकेको छ ।
करिब १ लाखको लागतमा विद्यार्थीहरुलाई स्वीटर वितरण भएको छ । वि.सं. २०७६ साउनमा स्थापना भएको सनराईज युथ क्लबको आयोजना तथा सम्पूर्ण जालपा देवि माविका भुतपूर्व विद्यार्थीहरुको सहयोगमा स्वीटर वितरण गरिएको कार्यक्रम संयोजक अशोक स्याङतानले बताउनुभयो । क्लबले हालसम्म प्रथम मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०७६, सरसफाईको कार्यक्रमका साथै कोष संकलन गर्न देउसीभैलो कार्यक्रमको आयोजना गरिसकेको छ भने सामाजिक कार्यमा सक्रियताका साथ सहभागिता जनाउँदै आएको छ।