हेटौंडाः मकवानपुरका सरकारी तथा निजी अस्पताल एवम् विद्यालय तथा क्याम्पसका पुस्तकालयका लागि पुस्तक सहयोग गरिएको छ । अमेरिकी राजदूतावास र द एसिया फाउण्डेसनसँगको सहकार्यमा पुस्तकालय परिचारिका संगठन नेपालले पुस्तक सहयोग गरेको हो । संगठनकी मकवानपुर जिल्ला अध्यक्ष शारदा सिवाकोटीको अध्यक्षता तथा बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव डा. हरिप्रसाद लम्सालको प्रमुख आतिथ्यमा हेटौंडा अस्पतालको सभाकक्षमा पुस्तक वितरण कार्यक्रम भएको हो ।
कार्यक्रममा पुस्तकालयको विषयमा अन्तरक्रिया समेत गरिएको थियो । पुस्तकालय र पुस्तक अध्ययनको विषयको आवश्यकतालाई औँल्याउनुहुँदै सचिव डा. लम्सालले पुस्तकले विगत र वर्तमानका बारेमा जान्न, बुझ्न र भविष्यको सम्भावना पहिल्याउन उपयोगी हुने बताउनुभयो । औपचारिक शिक्षा मात्रै नभएर जीवन र जगतका बारेमा जान्न, बुझ्न नियमित अध्ययन जरुरी रहेको डा. लम्सालको भनाइ थियो । डा. लम्सालले पठन संस्कृतिको विकास जरुरी रहेको र यसलाई अभियानकै रुपमा लैजानुपर्ने धारणा राख्नुभयो ।
संगठनकी केन्द्रीय अध्यक्ष शारदा पाण्डे सिवाकोटीले अमेरिकी दूतावास र एसिया फाउण्डेशनसँगको सहकार्यमा संगठनले देशका विभिन्न स्थानमा विद्यालय तथा स्वास्थ्य संस्थामा पुस्तकालय स्थापना, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । प्रकाशित पाठ्यपुस्तकका साथै डिजिटल स्वरुपको पुस्तकका लागि संगठनले अनलाइन सुविधा लिने संस्थालाई पनि सहयोग गर्ने गरेको उहाँको भनाइ छ ।