हेटौंडाः प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन मकवानपुरको क्रिकेट टिमलाई विदाई गरिएको छ । बुधबार बिहान मकवानपुर जिल्ला खेलकुद विकास समिति परिसरमा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको टिमलाई विदाई गरिएको हो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा, बागमती प्रदेश उपाध्यक्ष प्रेम क्षेत्री, मकवानपुर जिल्ला अध्यक्ष बासुलाल श्रेष्ठ, महावीर क्लबका अध्यक्ष अजय मानन्धरले विदाई गर्नुभएको हो ।
महावीर क्लबका अध्यक्ष अजय मानन्धरले जिल्ला टिमलाई एकदिनको खर्च समेत सहयोग गर्नुभएको छ । मकवानपुर क्रिकेट टिमलाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्राले जर्सी र क्याप सहयोग गर्नुभएको छ । प्रशिक्षक सञ्जय महर्जन, व्यवस्थापक धिरज श्रेष्ठसहित राम नरेश गिरीको कप्तानीमा मकवानपुर क्रिकेट टिम प्रदेशस्तरीय छनोट खेल्न बुधबार काठमाडौं प्रस्थान गरेको हो । तीन साता बन्द प्रशिक्षणपछि मकवानपुर क्रिकेट संघले जिल्ला टिम छनोट गरेको हो । बन्द प्रशिक्षण सुरु गर्नुअघि संघले उपलब्ध खेलाडीको दुईवटा टिम बनाएर तीन एकदिवसीय खेल समेत आयोजना गरेको थियो ।
बागमती प्रदेशस्तरीय छनोट खेलमा मकवानपुरसहित सात जिल्लाको सहभागिता छ । मकवानपुरको समूह ‘ए’ मा काठमाडौं, भक्तपुर र नुवाकोट रहेको छ । मकवानपुरले पहिलो खेल शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा नुवाकोटसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेल शनिबार त्रिवि क्रिकेट मैदानमा भक्तपुरमा र समूह चरणको अन्तिम खेलमा मकवानपुरले काठमाडौंसँग मूलपानी क्रिकेट मैदानमा खेल्नेछ । छनोट प्रतियोगिताको फाइनल खेल आगामी मंगलबार मूलपानी क्रिकेट मैदानमा हुनेछ ।