हेटौंडाः बहुमुखी प्रतिभाका धनी भीम विरागको सम्मानमा स्थापित भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यस वर्षको विजुली माया वनः श्रेष्ठ संगीत पुरस्कारबाट भारत दार्जिलिङका दावा ग्याल्मोलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर दावा ग्याल्मोलाई पुरस्कृत गर्ने जानकारी गराएको हो ।
दार्जिलिङमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान पुर्याएको भन्दै दावा ग्याल्मोलाई सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले जानकारी दिनुभयो । एक लाख राशीको पुरस्कार आगामी माघ १७ गते हेटौंडामा प्रदान गरिनेछ । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमाको सम्मानमा २०६४ सालदेखि प्रतिष्ठानमार्फत पुरस्कार प्रदान गर्दै आउनुभएको छ । कन्हैयाकृष्ण श्रेष्ठकी आमा विजुलीमाया वनः श्रेष्ठको गत वर्ष माघ महिनामा निधन भइसकेको छ । पहिलो पटक अम्बर गुरुङलाई पुरस्कृत गरेको प्रतिष्ठानले क्रमशः प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन र चेत कार्कीलाई सम्मान गरिसकेको छ ।
प्रतिष्ठानले यस वर्षदेखि भीम विराग संगीत युवा पुरस्कारबाट पोखराको महिला सांगीतिक समूह ‘हार्मोनी’ लाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले पहिलो पटक प्रदान गर्न लागेको संगीत युवा पुरस्कारको राशी साहित्यकार प्रकाश सायमीले प्रदान गर्नुहुने प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले जानकारी दिनुभयो ।