हेटौंडाः प्रतिनिधिसभा विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नेपाली कांग्रेसले सोमबार मकवानपुरका दुई स्थानमा विरोधसभा गरेको छ । मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत् थाहा नगरपालिका र क्षेत्र नम्बर १ अन्तर्गत् हेटौंडा–१६, हटियामा विरोधसभा गरिएको हो ।
थाहा नगरपालिकामा भएको विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको बलात्कार गरेको आरोप लगाउनुभएको छ ।
सनकको भरमा प्रतिनिधिसभा विघटन गरेर जनमतलाई धोका दिएको बताउँदै उपाध्यायले भन्नुभयो, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुगिसकेको छ । दिनहुँ बलात्कार, हत्या, भ्रष्टाचार बढिरहेको छ । न बलात्कारी र हत्यारा पक्राउ गर्न सकेको छ, न भ्रष्टाचार नियन्त्रण नै । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्साबाट हटाएर देशकै बलात्कार गरिएको छ ।’
वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको धारणा राख्दै उपाध्यायले सरकारको रबैयाविरुद्ध नेपाली जनता सडकमा ओर्लिएको दावी गर्नुभयो । ‘सरकारको गल्तीले सारा जनताको आँखामा आँशु छ । सरकार आँशु पुछ्न छाडेर भ्रष्टाचारमा डुबेको छ’, उपाध्यायले भन्नुभयो, ‘संसद् विघटन गरेर असंवैधानिक एवम् अलोकतान्त्रिक काम गरेको छ । यसका बिरुद्ध सबै एक हुनु आवश्यक छ ।’ जनताको बलमा राजतन्त्र ढलेको स्मरण गराउँदै अब जनताले नै कम्युनिष्टलाई पत्तासाफ गराउने उपाध्यायले चेतावनी दिनुभएको छ ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको अध्यक्षतामा भएको विरोधसभामा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा र आनन्द कठायत, कांग्रेस मकवानपुरका सल्लाहकार एवम् महासमिति सदस्य जयराम लामिछाने, महासमिति सदस्य उमा दाहाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, महासमिति सदस्य उदयमोहन श्रेष्ठलगायतले कम्युनिष्ट सरकार सर्वसत्तावादी भएको र अलोकतान्त्रिक एवम् असंवैधानिक निर्णय गर्दै अघि बढेको धारणा व्यक्त गर्नुभएको थियो । नेपाली कांग्रेस महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकलगायतका नेताहरुको आतिथ्य रहेको कार्यक्रममा ३० जना कांग्रेसमा प्रवेश गरेका छन् ।
यस्तै, हेटौंडा–१६, हटियामा भएको विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले श्री ५ महाराजको शैलीमा संसद विघटन गरेर तानाशाह लाद्न खोजेको आरोप लगाउँदै ओलीलाई श्री ५ बन्न नेपाली जनताले जनमत नदिएको बताउनुभयो । कोरोनाको विषम् परिस्थितिमा जनउत्तरदायी हुनुपर्नेमा ओली सरकारले संसद विघटन गरेर जनमतको खिल्ली उडाएको भुसालले बताउनुभयो । उहाँले नेपाली कांग्रेस ओलीको असंवैधानिक गतिविधिको साक्षी नबस्ने स्पष्ट पार्नुभयो ।
कुनै एक व्यक्तिको लहडले सिर्जित अस्थिरताको भागिदार सबै नेपाली जनता हुन नहुने भन्दै भुुुसालले संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म नेपाली कांग्रेसले निरन्तर खबरदारी गरिरहने बताउनुभयो । उहाँले सरकारको गलत कामको प्रतिकार गर्न जनसमुदायलाई आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जनताको छोराछोरी राष्ट्रपति हुने गणतन्त्रात्मक व्यवस्थामै आघात पुग्नेगरी सरकारले जनमतको अपहेलना गरी संसद विघटन गरेको आरोप लगाउनुभयो । विघटित संसदको पुनःस्थापना नेपाली कांग्रेसको पहिलो प्राथमिकता भएको बताउँदै बानियाँले कांग्रेस निर्वाचनबाट पनि नभाग्ने स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमलाई सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ सभापति दामोदर खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप पराजुली, सल्लाहकार रीता खनाल, नगरसभापति आनन्दराम पराजुली, हेटौंडा १६ का वडा सभापति एवम् वडा अध्यक्ष रामकृष्ण कोइराला, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष राजु खतिवडालगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ९९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।