हेटौंडाः हेटौंडा–२, बुद्धचोकस्थित परिचय बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति यथावत राख्ने निर्णय भएको छ । शनिबार हेटौंडामा भएको ११ औं वार्षिक साधारणसभाको समापन तथा नयाँ समिति चयन गर्ने क्रममा दीपक तिमिल्सिनाको अध्यक्षतामा यसअघिकै कार्यसमितिलाई निरन्तरता दिने निर्णय भएको सचिव सुशान्त तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
सहकारीको उपाध्यक्षमा ईश्वरी दाहाल, सचिवमा सुशान्त तिमिल्सिना, कोषाध्यक्षमा मोहनप्रसाद घिमिरे हुनुहुन्छ भने सदस्यमा लक्ष्मण पराजुली, भवनाथ दाहाल, अन्नपूर्ण अमुगाई, अनिल बस्नेत र सुदर्शन खतिवडा रहेका छन् । गत मंगलबारबाट सुरु भएको साधारणसभाको शनिबार सहकारीका अध्यक्ष दीपक तिमल्सिनाको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण एकैदिन साधारणसभाको आयोजना नगरी निश्चित अवधिमा सहकारीको कार्यालयमै सदस्यलाई उपस्थित हुन जानकारी गराएर उपस्थिति गराउनुका साथै सल्लाह सुझाव संकलन गर्ने कार्य गरिएको थियो ।
एक हजार पाँच सय ३७ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी दुई करोड ३३ लाख २४ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । सहकारीले नौं करोड ५६ लाख ५७ हजार रुपैयाँ बचत संकलन गरेको छ भने १० करोड ४३ लाख ३० हजार रुपैयाँ ऋण लगानी गरेको छ । साधारणसभाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दिपक तिमिल्सिनाले सहकारीले अपेक्षित काम गर्न नसकेको र अपेक्षित काम गर्न सञ्चालक समिति र सेयर सदस्य सबैको एकता जरुरी रहेको आँल्याउनुभएको छ ।