हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता वितरण गर्ने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउन बजेट पठाएपछि हेटौंडा उपमहानगरपालिकाले अभिभावकविहीन बालबालिकाको लगत संकलन सुरु गरेको छ ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा हालसम्म २० जना अभिभावकविहीन बालबालिकाबाट मासिक भत्ता प्राप्त गर्न आवेदन दिएका छन् । वडा कार्यालयहरुबाट हालसम्म २० जना अभिभावकविहीन बालबालिकाको नाम सिफारिस गरेर पठाएको उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो ।
हालसम्म २० जना बालबालिकाको निवेदन प्राप्त भए पनि चालु आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाले ५ जना अभिभावकविहीन बालबालिकालाई मात्रै मासिक २ हजारका दरले भत्ता वितरण गर्ने तयारी गरेको लामिछानेले बताउनुभयो । प्रदेशको सामाजिक विकास मन्त्रालयले १ लाख २० हजार रुपैयाँमात्र बजेट उपलब्ध गराएका कारण ५ जनाभन्दा बढीलाई भत्ता दिन नसकिने लामिछानेले जानकारी दिनुभयो ।