फुटबल प्रतियोगिताबारे जानकारी गराउँदै विजय युथ क्लबका पदाधिकारीहरु ।

हेटौंडाः हेटौंडाको एफसी विजय युथ क्लबले आगामी माघ महिनामा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एफसी विजय युथ क्लबले एफसी विजय युथ हेटौंडा गोल्डकपको आयोजना गर्न लागेको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर माघ २२ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगिता हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ ।

आयोजक र मकवानपुर ११ सहित बागमती प्रदेश र प्रदेश नम्बर २ का १० टिमको सहभागिता रहने प्रतियोगिताको उपाधि विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक एफसी विजय युथका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिनुभएको छ । प्रतियोगितामा पर्सा जिल्लाको वीरगन्ज युनाइटेड र वीरगन्ज युथ एकेडेमी, बारा जिल्लाको नव जनजागृति युवा क्लब, सर्लाही जिल्लाको सर्लाही–११, सिन्धुली जिल्लाको दुधौली स्पोर्टस् क्लब, चितवन जिल्लाको हर्दि युवा समाज र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब र काठमाडौंको एफसी रियाले सहभागी हुनेछन् । प्रतियोगिताको फाइनल खेल फागुन १ गते हुने संयोजक भेटवालले बताउनुभएको छ ।

एफसी विजय युथका सचिव राजेश भेटवालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता आयोजनाका लागि २१ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट विभिन्न संघ, संस्थासँग सहयोग संकलन गरिने संयोजक भेटवालले बताउनुभएको छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।