शैक्षिक सामग्री वितरण तथा शैक्षिक अन्तरक्रियापछि क्लिक गरिएका तस्बिर ।

हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ४, चिसापानीमा रहेको चेपाङ प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा शैक्षिक अन्तरक्रिया गरिएको छ । विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालद्वारा चेपाङ प्राविमा अध्ययनरत ५८ विद्यार्थीलाई शैक्षिक सामग्री, स्कूलड्रेस, ब्याग वितरण गरिएको हो । प्रत्येक विद्यार्थीलाई एक–एक थान ड्रेस र ब्याग तथा ४ सय ३२ थान कापी वितरण गरिएको वडा अध्यक्ष ध्रुव खड्काले बताउनुभयो ।

वडा अध्यक्ष खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेल्पकोड नेपालका अध्यक्ष लक्ष्मीप्रसाद सेढाईं, कार्यक्रम निर्देशक भरत पाठक, विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रजालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण देवकोटा, कोषाध्यक्ष केशव सिलवाल, सदस्य सुष्मा पोखरेल, पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, सृजना प्राविका प्रधानाध्यापक गोकर्ण तितुङलगायतको उपस्थिति थियो ।

चितवन, काठमाडौं र मकवानपुरको मनहरी–४ का विद्यालयमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गरिरहेको हेल्पकोड नेपालले बिपन्न बालबालिकालाई निरन्तर सहयोग गर्ने बताइएको छ । यसैगरी बिहीबार पशुपतिनाथ माविका बालबालिका र सृजना प्राविका बालबालिकाई शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला वितरण गरिने कार्यक्रम संयोजक शीला देवकोटाले जानकारी दिनुभयो ।