हेटौंडाः शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुर र नागरिक मञ्च मकवानपुरले शिक्षामा सुधार गर्न हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न गैरसरकारी संस्था आवद्ध सञ्जालको रुपमा रहेको शिक्षाका लागि राष्ट्रिय अभियान र नागरिक मञ्च मकवानपुरले बुधबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामालाई ज्ञापनपत्र बुझाएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश समितिका संयोजक प्रकाश खतिवडाले ज्ञापनपत्रको विषयवस्तु बारे जानकारी गराउनुहुँदै मकवानपुर जिल्ला संयोजक बुद्धवीर लामा र नागरिक समाज मञ्च मकवानपुरका सदस्य साधुराम चौलागाईले उपमेयर मीनाकुमारी लामालाई ज्ञापनपत्र बुझाएको हो ।
सार्वजनिक शिक्षा सुदृढीकरण, अनिवार्य, निशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि पहल गरिएको बागमती प्रदेश संयोजक प्रकाश खतिवडाले बताउनुभयो । ज्ञापनपत्रमा पालिकाको शिक्षा नीति र नियमावलीको समय सापेक्ष परमार्जन गरी वडा तहसम्मको शिक्षा समितिले काम गर्नुपर्ने, शिक्षामा विनियोजन गरिने बजेटलाई खर्च नभई लगानीको रुपमा बुझ्न र बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न पनि ज्ञापनपत्रमा भनिएको छ ।
शिक्षकको क्षमता बढाउनका लागि शिक्षक क्षमता अभिबृद्धि तालिम, पाठ्यक्रम सम्बन्धी तालिम, अनलाइन सम्बन्धी तालिम, विषयगत तालिम सञ्चालन गर्न पनि माग गरिएको छ । अभियानको कार्यपत्र बुझ्नुभएपछि उपमेयर मीना कुमारी लामाले नागरिक समाजको तर्फबाट प्राप्त सुझावप्रति आभार व्यक्त गर्नुहुँदै प्राप्त सुझावका आधारमा सुधारको प्रयास गरिने बताउनुभएको छ ।