हेटौंडाः हेटौंडामा तीन दिन रक्तदान कार्यक्रम हुने भएको छ । रगतको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने गरी रक्तदान कार्यक्रम हुन लागेको रक्तसञ्चार केन्द्र हेटौंडाले जानकारी गराएको छ ।

रक्तसञ्चार केन्द्र हेटौंडाका अनुसार बुधबार हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा रक्तदान कार्यक्रमको आयोजना हुँदैछ । विद्यालयको ४४ औं स्थापना दिवसको अवसरमा निर्मल मावि पूर्वविद्यार्थी समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । विद्यालय परिसरमै रक्तदान कार्यक्रमको आयोजना हुँदैछ । यस्तै शुक्रबार सिद्धार्थ बैंकको हेटौंडा शाखाले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । शनिबार हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम गर्दैछ । हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको सिद्धार्थ बैंक र नारायणी बहुउद्देश्यीय सहकारी संस्था दुबैले वार्षिकोत्सवको अवसरमै रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

हेटौंडामै रगतको खपत बढ्नुका साथै चितवन जिल्लाबाट समेत माग बढेर आउन थालेपछि हेटौंडास्थित रक्तसञ्चार केन्द्रले रगत संकलनको दरलाई बढाउनुपर्ने अवस्था आएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ । विभिन्न संघ, संस्थाले वार्षिकोत्सव, स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ ।