हेटौंडाः मानवसेवा आश्रम मकवानपुरले मंगलबार अर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, बागमती प्रदेश योजना आयोग अध्यक्ष श्यामकुमार बस्नेत, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, नेपाल उद्योग वणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, बागमती प्रदेश कार्यलयका मुख्यसचिव मानबहादुर बीके, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलगायतको आतिथ्यता थियो ।
कार्यक्रममा मानवसेवा आश्रम मकवानपुरले गरेका कामहरु मानवता प्रवद्र्धनअन्तर्गतका विभिन्न रचनात्मक प्रशिक्षण कार्यक्रमहरुको जानकारी गराइएको थियो । कार्यक्रममा मानवसेवा आश्रम मकवानपुरले हालसम्म सहयोगापेक्षी सडकमानवहरुको नियमित उद्दार, औषधोपचार, पारिवारिक पुनःमिलनको सेवा कार्यहरु नियमितरुपमा भइरहेको जानकारी दिइएको थियो । मानवसेवा आश्रमको मुख्य कार्यालय भवनको निर्माण सेवा निरन्तररुपमा अगाडि बढिरहेको, आश्रमका गरिमा लक्ष्मीनारायणहरुको मन बहलाउन र स्वावलम्बी बनाउन तरकारी खेती र बगैंचा निर्माणको सेवा कार्य अगाडि बढिरहेको जनाइएको छ । त्यसैगरी आश्रमले देश विदेशबाट समेत मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियानको सेवा कार्यलाई महसुस गर्न अवलोकन भ्रमण गर्न आउनेहरुको संख्या बढिरहेको र आश्रम समाजसेवा पर्यटन प्रवद्र्धनको केन्द्र बन्दै गइरहेको बताइएको छ ।
मानवसेवा आश्रम मकवानपुरले अर्थिक वर्ष २०७६/०७७ गरेका उपलब्धिहरुमा मानवीय सेवामा तिव्रता र गुणस्तर बढ्दा सबैको साथ, सहयोग बढ्दै गएको बताइएको छ । यसैगरी आश्रमको सेवामा सडकपेटी एवम् सार्वजनिक स्थलमा सहयोगापेक्षी भेटिए मानवसेवा आश्रममा सम्पर्क गर्ने वातावरण बन्दै गएको, तीनै तहका सरकारको निरन्तर साथ, सहयोग एवम् अभिभावकत्व प्राप्त हुँदै गएको बताएको छ । कार्यक्रममा नियमितरुपमा सहयोगीदाताहरु सुनिश्चित हुन नसक्दा सेवा आम्दानी र खर्च असन्तुलित रहेको, कोरोना कहरका कारण जनश्रोतको अभावले सेवामा सोचे अनुरुपको तिब्रता ल्याउन नसकिएको, भवन निर्माण कार्यलाई तिव्रता दिन नसकिएकोजस्ता समस्या तथा चुनौतीबारे जानकारी दिइएको छ ।
मानवसेवा आश्रम मकवानपुरको भावी योजनाहरुमा साधकसाधिकाको संख्यामा वृद्धि गर्ने र आश्रमको प्रचारप्रसार गर्नका लागि भिडियो र फोटोहरु तयार गर्ने जानकारी दिइएको छ । नियमितरुपमा अनलाइनको माध्यमबाट सञ्चालित कार्यक्रमहरुमा सहभागीको संख्या बढाउने, विभिन्न संघसंस्थाहरुसँग जनसम्पर्क गरी सामाजिक क्षेत्रमा सहयोग पुर्याउन अनुरोध गर्नेलगायत योजनाहरुको बारेमा बताइएको छ । मानवसेवा आश्रम मकवानपुरले गत आर्थिक वर्षमा एकसय ५९ जनाको गरेकोमा २८ जना व्यक्तिहरुलाई परिवारसूग पुनर्मिलन गराएको बताइएको छ । त्यसैगरी ७ जनाको मुत्यु भएको र ३० जना शारीरिक/मानसिकरुपमा सुधारपश्चात् स्वावलम्बी भएर जीवनयापन गर्ने प्रतिबद्धतासहित स्वेच्छिकरुपमा आश्रमबाट आफ्नो घर गएको बताइएको छ । आश्रमको केन्द्रीय कार्यालयमा १ सय २९ जना आश्रित रहेको र ५ जनालाई आश्रमको अन्य शाखामा स्थानान्तरण गरिएको बताइएको छ ।
२०६९ भदौमा मकवानपुरको हेटौंडाबाट सुरु भएको मानव सेवा आश्रमलाई हाल सातवटै प्रदेशका १४ जिल्लामा विस्तार गरिएको छ । सडकआश्रित मानवमुक्त राष्टू निर्माण गर्ने अठोटका साथ क्रियाशील आश्रमले २२ वटा सेवाकेन्द्रबाट सेवा प्रदान गरिरहेको छ । मानव सेवा आश्रमले गत असार मसान्तसम्म ४ हजर ५ सय ५५ जनालाई सेवा प्रदान गरेको छ । उक्त अवधिसम्म एक हजार ५५ जनाले आश्रममा आश्रय लिइरहेका छन् भने एक हजार ३ सय ५० जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । एक हजार ८ सय जनाले मानवेसवा आश्रममा अल्पकालीन सेवा लिएका छन् भने आश्रममा आश्रय लिइरहेको अवस्थामा ३ सय ५० जनाको मृत्यु भएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मानवसेवा आश्रममा आश्रितमध्ये ३ सय ४६ जना महिला, ३ सय ४५ जना पुरुष, २ सय ६८ जना ज्येष्ठ नागरिक र ९६ जना बालबालिका छन् । मानवसेवा आश्रमले आर्थिक वर्ष २०७६/०७७ मा १० करोड ६६ लाख २९ हजार आम्दानी गरी ७ करोड ८५ लाख ५५ हजार खर्च गरेको छ । व्यक्तिगत तथा संस्थागत चन्दा, दान, अनुदान मुख्य आम्दानीको स्रोत रहेको आश्रमको गत असार मसान्तसम्म २ करोड ८० लाख ७४ हजार बचत रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।