हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले शिक्षक स्वर्णिम अवकास योजना कार्यान्वयनमा ल्याउने भएको छ । गाउँपालिका कार्यालयले दोस्रो पटक सूचना जारी गर्दै इच्छुक शिक्षकहरुलाई दरखास्त पेश गर्न आह्वान गरेको हो ।
गाउँपालिकाले शिक्षक स्वर्णिम अवकास कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताउनुभयो । शिक्षक स्वर्णिम अवकास कार्यक्रममा सहभागी हुन शिक्षकलाई सेवासम्बन्धी विभिन्न शर्त राखिएको उहाँले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाअन्तर्गत्का विद्यालयहरुमा कार्यरत शिक्षकहरुले स्वर्णिम अवकास कार्यक्रममा सहभागी भएमा शिक्षकले विभिन्न सेवा, सुविधा पाउने र त्यसका लागि केही शर्त राखिएको घलानले बताउनुभयो ।
उहाँका अनुसार ८ बर्षभन्दा बढी सेवाअवधि बाँकी भएको शिक्षकले ५ लाख प्रोत्साहन रकम पाउनेछन् । यसैगरी ५ बर्षदेखि ७ वर्षसम्म सेवाअवधि बाँकी भएका शिक्षकले ४ लाख, २ वर्षदेखि ४ बर्षसम्म सेवाअवधि बाँकी भएका शिक्षकले ३ लाख र १ बर्षदेखि २ वर्ष कम सेवाअवधि बाँकी भएका शिक्षकले २ लाख रुपैयाँ प्रोत्साहनस्वरुप पाउनेछन् । त्यसैगरी राहत शिक्षकले जुनसुकै उमेर समूहको भए पनि एकमुष्ट ३ लाख रुपैयाँ प्रोत्साहन रकम पाउनेछन् ।
स्वर्णिम अवकास कार्यक्रममा सहभागी हुन इच्छुक शिक्षकहरुले २०७७ पुस ३० गतेसम्ममा निवेदन पेश गर्नुपर्ने घलानले बताउनुभयो । कार्यक्रममा सहभागी हुन इच्छुक शिक्षकले आफ्नो नियुक्तिपत्र, राजिनामा स्वीकृत भएको बोधार्थ प्रति र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निवेदनसाथ पेश गर्नुपर्नेछ ।
शिक्षक स्वर्णिम अवकास कार्यक्रमका लागि निवेदन दिएपछि कुनै कारण देखाएर कार्यक्रममा सहभागी हुनबाट पछि हट्न नपाइने गाउँपालिकाको शिक्षा शाखा प्रमुख घलानले बताउनुभयो ।
गाउँपालिकाले कार्यान्वयनमा ल्याएको शिक्षक स्वर्णिम अवकास कार्यक्रमले दीर्घकालसम्म शैक्षिक क्षेत्रमा नयाँ आयाम ल्याउने घलानले बताउनुभयो । यस कार्यक्रमबाट रिक्त हुने स्थानमा प्रविधिमैत्री युवा पुस्ताका शिक्षकहरुले अवसर पाउने उहाँले बताउनुभयो ।
मकवानपुर गढी गाउँपालिकामा रहेका ४० वटा विद्यालयमा हाल १ सय ४४ जना स्थायी शिक्षक कार्यरत छन् । यस्तै गाउँपालिकामा अस्थायी र राहत शिक्षकहरुको संख्या १ सय १ जना रहेको छ ।