हेटौंडाः हेटौंडाको एफसी मुण्डियाल क्लब सिरहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरमा जारी राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा चितवनको हर्दि युवा समाजलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एफसी मुण्डियाल ५–३ गोलअन्तरले विजयी भएको हो । पहिलो सेमीफाइनलको म्यान अफ दि म्याच एफसी मुण्डियालका रक्षक जनक कार्की भए ।
यसअघि एफसी मुण्डियालले सोमबार उद्घाटन खेलमा मोरङ बेलबारीको डाँगीहाट फुटबल क्लबलाई सडनडेथमा पराजित गरेर सेमीफाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको उपाधी विजेताले दुई लाख २२ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।