उद्धार गरेकी सुन्तली अधिकारी ।

हेटौंडाः हेटौंडाको स्कुलरोडबाट शनिबार ८० बर्षीया एक बृद्ध महिलाको उद्धार भएको छ । पोखरा घर बताउने ८० वर्षकी सुन्तली अधिकारीको हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यालयले उद्दार गरेको हो । हेटैंडा बजारमा अधिकारी पछिल्लो ३ महिनादेखि देखिन थालेको स्कूलरोडका व्यवसाथी निरु न्यौपानेले बताउनुभयो । हरेक दिन पसलमा आउने, पैसा माग्ने तथा केही खाने कुरा मागेपछि आफैंले होटलमा लगेर खाजा खुवाउने गरेको व्यवसायी न्यौपानले बताउनुभयो ।

८० वर्षीया वृद्ध महिलाले शनिबार स्कूलरोडमा हेटौंडा–१ का अजित बर्तौलालाई बिहानदेखि केहि नखाएको बताएपछि बर्तौलाले केही रकम सहयोग गरेका थिए । पेट पाल्नको लागि मागेर हिँड्नुपरेको तथा आफ्नो परिवारमा कोही नभएको सुनाएपछि बर्तौलाको पहलमा हेटौंडा–४ का जनप्रतिनिधिलाई यसबारे जानकारी गराइएको थियो । यसबारे मानव सेवा आश्रमले जानकारी पाएलगत्तै उद्दार गरिएको मानव सेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

८० वर्षीया सुन्तली अधिकारीले खाना खान दिने भए आश्रममा जाने बताउनु भएको थियो । कहिले मागेर आधा पेट खाना खाने तथा कहिले भोकै सुत्ने गरेको भन्दै मानव सेवा आश्रममा लगिदिन अधिकारीले आग्रह गर्नुभएको थियो । सुन्तलीको घर परिवारको बारेमा बुझ्ने काम भइरहेको आश्रमका अभियन्ता पौडेलले जानकारी गराउनुभयो