हेटौंडाः कक्षा १२ को वार्षिक परीक्षा आज मंगलबारबाट सुरु भएको छ । मकवानपुर जिल्लाका ४१ वटा शैक्षिक संस्थाबाट नियमिततर्फ चार हजार चार सय ९७ र आंशिकतर्फ एक हजार आठ सय ७० जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । कोभिड महामारीका कारण गत बैशाखमा हुनुपर्ने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आठ महिनापछि आजदेखि सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परीक्षा सञ्चालन गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको संरचनामा समेत परिवर्तन गरेको छ । आजबाट सुरु हुने परीक्षामा विद्यार्थीले डेढ घण्टामा ४० अंकका लागि परीक्षा दिनेछन् । १०० पूर्णाङ्कमध्ये ४० अंक कक्षा ११ को प्राप्ताङ्कका आधारमा प्रदान गरिनेछ भने २० अंक सम्बन्धित शैक्षिक संस्थाले विद्यार्थी मूल्यांकनका आधारमा प्रदान गर्नेछ । सोमबार जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्र निर्धारण गर्ने र परीक्षा केन्द्रको केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सदस्य सचिव रहने समितिले मकवानपुरका ४१ वटै शैक्षिक संस्थाका प्रमुखलाई केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
परीक्षा बिहान ८ बजेबाट सुरु भएको थियो । हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा एक किरियामा बसेका एक विद्यार्थीले समेत परीक्षा दिएका छन् । यस्तै हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा सञ्चालित परीक्षाको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, बाग्मती प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुइ“टेल र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लीलानाथ गौतमले निरीक्षण गर्नुभएको थियो ।