हेटौंडाः कोयस्ट नेपालको आयोजना तथा नवोदय शिशु सदनको समन्वयमा सात दिने सहजकर्ता तालिम आइतबारबाट सुरु भएको छ । विद्यार्थीको गुणात्मक, सिर्जनात्मक र नेतृत्वको क्षमता विकास गर्ने उद्देश्यले कोयस्ट नेपालले प्रत्येक वर्ष विभिन्न विद्यालयमा गएर कार्यक्रम आयोजना गर्ने गरेको छ ।

तालिममा हेटौंडा नगर तथा जिल्ला बाहिरका १५ वटा विद्यालयका २८ जनाको सहभागिता रहेको छ । कोभिड–१९ को कारणले यस वर्ष भर्चुअल प्रविधिबाट विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई सहजकर्ताको एक हप्ता तालिम दिन लागिएको हो ।

तालिममा कोयस्ट नेपालका अध्यक्ष राजकुमार महर्जन तथा मास्टर ट्रेनर सिंगा लामा, अव्यक्ता खनाल, सुवर्ण केसी, रवि पाण्डेले सहजीकरण गर्नुहुने छ । तालिममा सिकेका कुराहरु प्रधानाध्यापकले विद्यार्थीहरुमार्फत पुर्‍याएर विद्यार्थीहरुले पनि तालिम पश्चात् स्वयम उपस्थित भएर विभिन्न समूहमा विभाजन भई विद्यार्थीहरुले समस्या पहिचान गरी त्यसको समाधानको उपाय समेत आफैँ निकाल्ने विश्वास गरिएको छ । मकवानपुरलाई हव बनाएर प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रिय सम्म पुग्ने यस कार्यक्रमले विद्यार्थीहरुको तार्किक क्षमताको विकास गर्दै विश्लेषणात्मक तथा आलोचनात्मक दृष्टिकोण पनि बन्न प्रेरित गर्नेछ ।