हेटौंडाः नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल तातेको छ । महासंघको निर्वाचनमा उम्मेदवारी दिएकाहरुको अन्तिम सूचि सार्वजनिक भइसकेको छ । महासंघको निर्वाचनमा यसपटक मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का दुईजना पूर्वअध्यक्षहरुले उम्मेदवारी दिएका छन् । मकवानपुरबाट मउवासंघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी र राजकुमार न्यौपानेको उम्मेदवारीले महासंघको निर्वाचन मकवानपुरका लागि थप चासो र चर्चाको विषय बनेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ गते र निर्वाचन कार्यक्रम मंसिर १२ र १३ गते तय गरिएको छ । मकवानपुरबाट अरुणराज सुमार्गीलाई मउवासंघले सिफारिस गरेको हो भने मकवानपुरकै राजकुमार न्यौपानेले मकवानपुरबाट सिफारिस नै नपाएको विषय थप चर्चामा रहेको छ । सुमार्गी र न्यौपाने दुबैजना अहिलेको महासंघमा केन्द्रीय सदस्य हुन् । मकवानपुर उद्योग वाणिज्य संघले सिफारिस नगरेपछि न्यौपाने रामेछाप जिल्लाको उद्योग वाणिज्य संघको सिफारिसमा केन्द्रिय सदस्यको चुनावी मैदानमा उत्रनुभएको छ ।
प्रदेशतर्फको केन्द्रीय सदस्यमा राजकुमार न्यौपानेको उम्मेदवारी परेकोमा चितवन उद्योग वाणिज्य संघले विरोध समेत गरेको बताइएको छ । जिल्ला, नगर उद्योग वाणिज्य संघले सिफारिस गर्ने उम्मेदवार सम्बन्धित संघको पदाधिकारी हुनुपर्ने व्यवस्था विपरित न्यौपानेको उम्मेदवारी रहेको भन्दै चितवन उद्योग वाणिज्य संघले विरोध गरेको बताइएको छ । राजकुमार न्यौपानेले भने चितवन जिल्लाको दावीलाई खारेज गर्दै निर्वाचन समितिले आफ्नो उम्मेदवारीलाई सदर गरेको जानकारी दिनुभएको छ ।
‘चितवनको दावीलाई खारेज गर्दै मेरो उम्मेवारीलाई निर्वाचन समितिले सदर गरेर अन्तिम नामावली समेत सार्वजनिक गरिसकेको छ’, न्यौपानेले भन्नुभयो, ‘भोलि (आइतबार) बिहान पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारीबारे जानकारी गराउनेछु ।’ प्रदेशतर्फको एकजना केन्द्रीय सदस्य पदका लागि न्यौपानेसहित तीनजनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ केन्द्रीय सदस्यमा न्यौपानेसहित चितवनबाट सहनलाल प्रधान र सिन्धुपाल्चोकबाट राजेन्द्र श्रेष्ठको उम्मेदवारी रहेको छ ।
अरुण राज सुमार्गीले जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो । १८ जना सदस्यका लागि मकवानपुरका सुमार्गीसहित ३८ जनाको उम्मेदवारी परेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएपछि अहिले वरिष्ठ उपाध्यक्षको पदको लागि चुनाव हुने भएको छ । चुनावमा वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धामा हुनुहुन्छ । मकवानपुरबाट प्रतिनिधित्व गर्नुहुने अरुणराज सुमार्गी किशोर प्रधान समूहबाट चुनावमा सहभागी हुँदै हुनुहुन्छ भने राजकुमार न्यौपाने चन्द्र ढकाल समूहबाट चुनावमा सहभागी हुँदै हुनुहुन्छ ।