हेटौंडाः कोरोना भाइरस सङ्क्रमणको जोखिम रहने भन्दै स्थानीय प्रशासनले नदितटमा छठघाट बनाउन अनुमति नदिएपछि हेटौंडाको एक टोलमा स्थानीयले प्लास्टिक पोखरी बनाएर शुक्रबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाएका छन् । हेटौंडा–१०, आनन्दटोलमा एक समूहले प्लास्टिक पोखरी बनाएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।
संसारभर महामारी बनेको कोरोना भाइरसको जोखिमका कारण स्थानीय प्रशासनले नदितटमा छठघाट बनाउन सहमति नदिएपछि जोखिमको अवस्थालाई मूल्यांकन गरेर टोलमै आवश्यक व्यवस्थापन गरेर छठ पर्व मनाइएको हेटौंडा–१०, आनन्दटोलका नन्दलाल दासले बताउनुभएको छ । छठ पुजा गर्ने टोलकै सदस्यहरु मिलेर प्लास्टिक पोखरी बनाएर पुजा गरिएको दासको भनाइ छ । हरेक वर्ष हेटौंडाको राप्तीतटमा छठघाट बनाएर भव्यताका साथ मनाउने समितिकै पदाधिकारी समेत रहनुभएका दासले स्थानीय प्रशासनसँग समन्वय गर्दा सहमति प्राप्त हुन नसकेपछि घरमै बसेर छठ पर्व मनाइएको बताउनुभयो ।
राप्तीखोलामा छठघाट बनाउन नदिए पनि कतिपय श्रद्धालुले शुक्रबार साँझ राप्तीखोलामा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । राप्तीखोलामा हरेक वर्ष सामूहिक छठ पर्व मनाउने क्रममा हजारौं सर्वसाधारणले छठपर्व अवलोकन गर्न जाने गरेका थिए । यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण सामूहिक छठ पर्व मनाउने स्थिति नहुँदा अवलोकनका लागि सर्वसाधारणको उपस्थिति पनि अत्यन्त न्यून मात्रै थियो । छठ पर्वको प्रमुख दिन शुक्रबार साँझ राप्तीखोलासँगै कर्रा खोलामा पनि सर्वसाधारणले अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाएका छन् । श्रद्धालुले आज शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिनेछन् ।