हेटौंडाः सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । कार्तिक कृष्ण औँसीका दिन धनधान्य र समृद्धिकी देवीको पूजा अर्चना गरी लक्ष्मी पूजा मनाइन्छ ।

आज साँझ प्रत्येकको घर–घरमा धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना दीपमालिका सहित गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना,सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभकार्यमा अनिवार्य जस्तै केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ ।

आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइला रुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।