हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको बुधबार बसेको बोर्ड बैठकले दुईवटा सडकको कार्य सूचि पारित र एउटा व्यावसायिक भवनको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन (आईई) स्वीकृत गरेको छ । जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ६८ औं बोर्ड बैठकले दुईवटा सडकको कार्यसूचि पारित गर्नुका साथै एउटा व्यावसायिक भवनको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन (आईई) स्वीकृत गरेको हो ।
बैठकले जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा रहेको संक्षिप्त वातावरणीय अध्ययन प्राविधिक उपसमितिबाट छानविन भई बोर्डमा सिफारीस साथ आएको भीमफेदी गाउँपालिका स्थित कोगटे महाभीर सडक र राक्सिराङ गाउँपालिका स्थित बोडवारी–परेवाभीर–रतुवा–डोलघारी सडकको कार्यसूचि पारित गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकले हेटौंडा–१० स्थित बसपार्कमा निर्माण हुन लागेको बस टर्मिनल अन्तर्गतको भवन निर्माणका लागि उपसमितिबाट पेश भई आएको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोख्रेल, सदस्यहरु देवराज रिमाल, चित्र बहादुर बलामी, सीता अधिकारी, बुद्धि बहादुर मोक्तान, सानुकान्छी स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।