हेटौंडाः असारको झरीमा कालोपत्रे गरेर बजेटको सत्यानास गर्यो भन्दै निक्कै आलोचना हुने गरेको छ । तर, हेटौंडामा भने हिउँद सुरु हुँदै गर्दा नै सडक कालोपत्रे गर्न सुरु गरिएको छ । हेटौंडा–४, हुप्रचौरमा सडक कालोपत्रे गर्ने काम शुक्रबारबाट सुरु भएको छ ।
बागमती प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनिमार्फत सडक निर्माणको कार्य वर्षा सकिनै लाग्दा सुरु गरेर हिउँद लाग्दा लाग्दै कालोपत्रे सुरु गरेको छ । भदौ दोस्रो साताबाट निर्माण कार्य सुरु गरेको चार सय ३० मिटरको सडकमा दायाँबायाँ ढल निर्माण, कर्भस्टोन जडानसहित ८ मिटर चौंडा सडकमा शनिबार कालोपत्रे गरेर सकिने निर्माण कम्पनिले जनाएको छ । हेटौंडाको निरीक्षा निर्माण कम्पनि प्रालिले आसफाल्ट पिच गरेको छ । ८८ लाख रुपैयाँमा गत आर्थिक वर्षमै ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता गत जेठमा भए पनि लकडाउनका कारण काम सुरु हुन सकेको थिएन ।
लकडाउन खुकुलो भएसँगै भदौ दोस्रो साता निर्माण सुरु गरिएको निरीक्षा निर्माण कम्पनि प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ । हरेक वर्ष असारको झरीमा सडक कालोपत्रे गर्यो भन्दै आलोचना हुनुमा व्यवसायी दोषी नभई राज्यको प्रणालीमै समस्या भएको पनि भण्डारीको भनाइ छ । लकडाउन नभएको भए अहिले पिच भइरहेको सडकखण्ड पनि असारमै कालोपत्रे गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
सरकारले कुनै पनि योजनाको लागत अनुमान तयार पार्ने, ठेक्काको प्रक्रिया थालनी गर्ने, ठेक्का आव्हान गर्ने, ठेकेदार कम्पनि छनोट गर्ने, ठेक्का सम्झौता गर्ने लामो प्रक्रिया पूरा गर्दै गर्दा आर्थिक वर्षको अन्तिम २/३ महिनामा काम गर्नुपर्ने अवस्थालाई औँल्याउँदै भण्डारीले भन्नुभयो, ‘नेपालको आर्थिक वर्षको अन्तिम समय असारमै हुनुले समस्या भएको हो । यस पटक हामीले गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता गर्यौं । वर्षा सकिनै लाग्दा काम सुरु गरेर हिउँदा लाग्दा नलाग्दै कालोपत्रे गर्न पायौं ।’