हेटौंडाः ढुंगा, गीट्टी बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिले जिल्लाका बाँकी रहेका तीन पालिकाका नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को स्टक प्रमाणित गरेको छ । अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले जिल्लाको थाहा नगरपालिका, ईन्द्रसरोवर र राक्सिराङ गाउँपालिकाको नदिजन्य पदार्थको स्टक प्रमाणित गरेको हो ।
ढुंगा, गिट्टी, बालुवाको प्रमाणिकरणका लागि डिभिजन वन कार्यालयका प्रमुखको नेतृत्वमा गठित उपसमितिले पेश गरेको स्टक प्रमाणित प्रतिवेदनलाइ बैठकले स्वीकृत गरेको समितिका संयोजक खुलालले जानकारी दिनुभयो । उपसमितिले पालिकाहरूमा स्थलगत रुपमा (नदिजन्य पदार्थ) ढुंगा, गिट्टी, बालुवाको नापजाँच गरेर तयार पारेको स्टक प्रतिवेदनलाई समितिले स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । समितिले जिल्लाको हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मनहरी, मकवानपुरगढी र बकैया गाउँपालिकाको नदिजन्य पदार्थको स्टक यसअघि नै प्रमाणित गरिसकेको छ ।
त्यस्तै बसेको बैठकले स्टक प्रमाणित भएका पालिकाहरुमा फरक मौजदात देखिएको जफतयोग्य ढुंगा, गिट्टी, बालुवालगायत नजिदन्य पदार्थहरु तत्काल राजस्व सङ्कलन गरी अनुगमन समितिलाई जानकारी गर्न निर्देशन दिने निर्णय समेत गरेको उहाँले बताउनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ्, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख ईमनाथ पौडेल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दिर्घनारायण कोईराला, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख सन्त बहादुर ढकाल, सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीलगायत अनुगमन समितिका सदस्यहरुको उपस्थिती थियो ।