हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुर जिल्लामा पनि आफ्नो सेवा सुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच ललितपुरको धोबिघाटबाट सेवा सुरु गरेको हो । बागमती प्रदेशलाई नै कार्यक्षेत्र बनाएर अघि बढेको सहकारीको सेवा विस्तार गर्ने क्रममा ललितपुरबाट पनि सेवा सुरु गरेको जनाएको छ ।
सहकारीले गर्दै आएको काम र सहकारीको अवस्थाको विषयमा अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले कार्यक्रमका सहभागीलाई जानकारी गराउनुभएको थियो । ‘२०५५ सालमा स्थापना भएको दिव्यताराले मकवानपुरलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका थियौं । जिल्लामा ९ वटा शाखामार्फत सेवा दिँदै आएकोमा अब प्रदेशभरी सेवा दिन स्वीकृति पाएका छौं’, अध्यक्ष डीनाले भन्नुभयो, ‘ललितपुरबाट सेवा सुरु गरेका छौं ।
१९ गतेदेखि चितवनमा पनि कार्यालय सञ्चालन गरी सेवा दिँदैछौं । दिव्यतारालाई प्रदेशकै उत्कृष्ट सहकारी बनाउने हाम्रो उद्देश्य हो ।’ ललितपुरमा सन्तोष खड्कालाई सहकारीको संयोजक तोकिएको छ । मकवानपुरमा १० हजार शेयर सदस्य रहेको दिव्यताराले सामुदायिक रेडियो, रेडियो मकवानपुर, तेल उद्योग र उपभोक्ता सहकारी पसल सञ्चालन गरिरहेको छ भने गोलभेंडा प्रशोधन केन्द्र र सावुन उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सहकारीको कारोबार साढे ३ अर्ब रुपैयाँ रहेको छ भने एक अर्ब पुँजी रहेको छ ।
बहुउद्देश्यीय सहकारी भएकोले बहुआयामिक क्षेत्रमा काम गरिरहेको अध्यक्ष डीनाले जानकारी दिनुभएको छ । कार्यक्रममा सहकारीका व्यवस्थापक रमेश कोइरालाले सहकारीको अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो । ललितपुर जिल्ला संयोजक सन्तोष खड्काले दिव्यतारालाई मकवानपुरमा जस्तै सफल बनाउने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा सहकारीका सचिव गणेश भेटवाल, कोषाध्यक्ष इश्वर पण्डित, कार्यसमिति सदस्य एवम् रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, सल्लाहकार दिनेश उपाध्याय, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी लगयातको आतिथ्यता थियो ।