हेटौडाः निःशुल्क पीसीआर परीक्षण गर्न र सङ्क्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न सरकारसँग नेपाल पत्रकार महासङ्घले आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको दर वृद्धि भएसँगै नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ ।
पत्रकारहरुले सङ्क्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत निर्वाहका क्रममा कोरोना सङ्क्रिमत भई आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता रहेको महासङ्घले जनाएको छ । यस्तो परिस्थितिमा मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेकोे अवस्था छ । सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको पनि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था र उपचाररत सबै सङ्क्रमित पत्रकार र सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग महासङ्घले आग्रह गरेको हो ।
उच्च जोखिमका बीच कोरोना सङ्क्रमणको विषयमा नागरिकलाई सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाई कोरोनाको कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेको र जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारहरुमा कोरोना सङ्क्रमण बढिरहेको महासङ्घले बताएको छ ।
त्यसैगरी महामारीको विषम् परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न आम पत्रकार तथा सञ्चारकर्मीहरुलाई महासङ्घका महासचिव रमेश बिष्टले अपिल गर्नुभएको छ । हालसम्म ४ सयभन्दा बढी पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ भने ४ जना पत्रकारको कोरोनाका कारण निधन भइसकेको छ ।