हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणमुक्त हुनुभएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार कात्तिक ६ गते हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
काभ्रे जिल्लाको धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा मुख्यमन्त्री पौडेल कोरोना भाइरस सङ्क्रमणमुक्त हुनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि हेटौंडास्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा रहनुभएका मुख्यमन्त्री पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भन्दै हेलिकप्टरमा काठमाडौं लगिएको थियो । काठमाडौंस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत हुनुहुन्थ्यो ।