हेटौंडाः रजैया–दर्दरा काठेपुल निर्माण गरी यातायात सेवा सञ्चालन हुन थालेपछि मनहरी–५ का बासिन्दा हर्षित भएका छन् । रजैया–दर्दरा जोड्ने झलुङ्गे पुल भए पनि पक्कीपुल नहुँदा हिउँद लागेसँगै स्थानीयले काठेपुल निर्माण गरेका हुन् ।
काठेपुल निर्माण गर्न मनहरी गाउँपालिकाको ८ लाख ८९ हजार रुपैयाँ, मनहरी ५ नम्बर वडाबाट ३ लाख रुपैयाँ अनुदान र रजैया तथा मनहरी–५ का स्थानीय समाजसेवी, व्यवसायीहरुबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको र केही स्थानीयको जनश्रमदानबाट काठेपुल निर्माण गरिएको रजैया–दर्दरा काठेपुल निर्माण उपभोक्ता समितिका अध्यक्ष गोबिन्द सापकोटाले जानकारी दिनुभएको छ ।
राप्ती खोलामा काठेपुल निर्माण हुँदा सदरमुकाम हेटौंडा बजारदेखि मनहरीको ५ नम्बर वडासम्म मालसामान ढुवानी गर्न सहज भएको सापकोटाले जानकारी दिनुभएको छ । काठेपुलबाट यातायात सञ्चालनमा आएपछि मालसामान ढुवानी गर्न तथा आवतजावत गर्न सहज भएको छ । पुल निर्माणका लागि गिट्टी, ढुङ्गा, काठ, ह्युमपाइप प्रयोग भएको छ ।
कात्तिकको पहिलो साता निर्माण सम्पन्न भएपछि चाडपर्वमा सवारी लिएर आवातजावत गर्नका लागि र हेटौंडा डिल्लीपुर दैनिक सञ्चालन हुने बसलाई पनि सहज भएको काठेपुल निर्माण उपभोक्ता समितिका सचिब वीर बहादुर मिजारले बताउनुभएको छ । राप्ती खोलामा निर्माण गरिएको काठेपुलको लम्बाई १२० मिटर रहेको र काठेपुलमा जिप, ट्याक्टर, मोटरसाइकल, ट्रक, बस लगायतका यातायातका साधनहरू सुचारु भएको सापकोटाले जानकारी दिनुभएको छ ।