हेटौंडाः साहित्यकार सुवास खनालको दोस्रो कविता कृति ‘सपनाका अवयव’ बुधबार भर्चुअल माध्यमबाट विमोचन गरिएको छ । मकवानपुरको बकैया गाउँपालिकामा २०४३ सालमा जन्मनु भएका सुवास खनालका विभिन्न ३३ वटा कविताहरु समावेश गरी ‘सपनाका अवयव’ कविता कृति प्रकाशन भएको हो ।

लेखकका मातापिताले कृतिको लोकार्पण तथा कवि खनालकी जीवन संगीनी भावना सापकोटाले कृतिको शीर्ष कविता वाचन गर्नुभएको भिडियो सार्वजनिक गरी कृति विमोचन गरिएको हो । विमोचन समारोहमा समीक्षक घनश्याम घिमिरेले ‘सपनाका अवयव’ कविता सङ्ग्रह विचार निर्माण, शैली निर्माण र विषयवस्तु छनोटका दृष्टिले उत्कृष्ट कृति रहेको बताउनुभयो । सुवासका खनालका कवितामा समाजका विसङ्गत पक्षको चित्रण, सामान्य विषयवस्तुहरुलाई समेत गहन ढङ्गबाट प्रस्तुति तथा सूत्रात्मकता, तार्किकता एवम् बौद्धिकताको सम्मीश्रण पाइएको समीक्षक घिमिरेले बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका क्रियाशील साहित्यक संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् वरिष्ठ कवि श्यामलले कवितामा क्राान्तिको आह्वान, शान्तिको कामना, हर्ष र पीडाको प्रस्तुति हुने हुँदा यो लोकप्रिय विधा भएको र त्यो लोकप्रियता कवि सुवास खनालले हासिल गरेको बताउनुभयो । सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा सम्पन्न कृति विमोचन समारोहमा देश विदेशका विभिन्न स्थानका ७० जना साहित्यकारहरुको उपस्थिति रहेको थियो ।