हेटौंडाः बागमती प्रदेश सरकारका मन्त्रीहरु र बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाका सदस्यहरुले चाडपर्व खर्च कोरोना कोषमा राख्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विवकेशील नेपाली दल र साझा पार्टीले चाडपर्व खर्च फिर्ता गर्ने निर्णयपछि दबावमा परेको नेकपाले सोमबार चाडपर्व खर्च वापतको रकम बागमती प्रदेश कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा दाखिला गर्ने निर्णय गरेको बागमती प्रदेशको नेकपाका संसदीय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।
बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राप्रपा र स्वतन्त्र उम्मेदवारले भने प्रदेश सभामा कुनै जानकारी नगराएको प्रदेश सभाको लेखा शाखाले जनाएको छ । कोरोना कहरका कारण आम नागरिकको दैनिकी गुजारा गर्न कठीन भइरहेका बेला जनप्रतिनिधिहरुलाई भने तलब र दशैं खर्च हात परेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध समेत भइरहेको छ ।
नागरिक तहमा भएको आलोचनापछि राजनीतिक दलका नेताहरुले दवावको स्थिति सामना गर्न बाध्य छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चाडपर्व खर्चकारूपमा आएको बागमती प्रदेशको मन्त्रिपरिषद्का सदस्यहरू र बागमती प्रदेशका नेकपाका प्रदेश सभा सदस्यको एक महिनाको रकम बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको उल्लेख गर्नुभएको छ ।