हेटौंडाः मकवानपुरमा आज ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार स्वाब संकलन गरिएको १९३ जनाको परीक्षण गर्दा आज ३८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ ।

आज १९ जना पुरुष र १९ जना महिलामा कोरोना पुष्टि भएको छ । आज हेटौंडा उपमहानगरपालिकाका ३३ जना, बकैया र भीमफेदी गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको हो भने जिल्ला बाहिर बारा, दाङ र काठमाडौंमा घर भई मकवानपुरमा बस्दै आएका ३ जनामा पनि कोरोना पुष्टि भएको छ । आज हेटौंडा उपमहानगरपालिकाका १४ वटा वडामा कोरोनाका सङ्क्रमितहरु थपिएका छन् ।