हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा भर्चुअल माध्यमबाट शनिबार बलात्कार विरुद्ध कविता वाचन कार्यक्रम भएको छ । बलात्कारका घटना दिन प्रतिदिन बढिरहेको अवस्थामा आँचलले कवितामार्फत सरकारलाई खबरदारी र समुदायलाई सचेत गराउने प्रयास गरेको हो ।
कवि तथा साहित्यकार सरिता तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम देशका विभिन्न क्षेत्रका साहित्यकारहरूको सहभागितामा भएको थियो । कार्यक्रममा सहभागी कविहरूले बलात्कार विरुद्धका रचना वाचन गर्नु भएको थियो । यस्तो घटनामा व्यक्तिले एकअर्काप्रति दोषारोपण नगरी सबै जनाले आआफ्नो ठाउँबाट घटना न्युनीकरणका लागि लाग्नु पर्ने बताउनुहुँदै प्रमुख अतिथि तिवारीले घर–घरबाट र विद्यालय तहदेखि नै यस्तो घटनाबारे चासो दिँदै सचेतता अपनाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
सर्जक सञ्जाल तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल तथा व्यङ्ग्यकार आरसी रिजालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कविहरू टिका आत्रेय, सुवास खनाल, सामना पहाड, देवराज तिवारी, नीरा शर्मा, राधा कोइराला, मुना चौधरी, भगवती बस्नेत, पुष्प पराग, अम्बिका कार्की, अजवी पौडेल, पूर्णकला घिमिरे, डिबि बर्तौला, अनु रोक्का, लक्ष्मी चौलागाईँ, चण्डिका गौतम, अस्मिता मानन्धर, रेजा विष्ट लगायतले रचना वाचन गर्नु भएको थियो । आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आँचलकी सदस्य बगेकी गङ्गाले स्वागत मन्तव्य राखेकी थिइन् साथै संस्थाकी सचिव भावना सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।