हेटौंडाः निवृत्त शिक्षक समाज मकवानपुरको आयोजनामा शनिबार भर्चुअल कविता गोष्ठी भएको छ । दशैंको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम र कविता गोष्ठीमा विभिन्न जिल्लाका २० जना साहित्यकारले रचना वाचन गर्नुभएको थियो । निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिव दयाल यादवकोे सभाध्यक्षतामा भएको कार्यक्रममा निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष धु्रवराज अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।
निवृत्त शिक्षक समाजका केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लीलानाथ गौतम विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा वाचित रचनाहरू बारे कवि सुवास खनालले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । टिप्पणी राख्दै खनालले निवृत्त शिक्षक समाजले प्रौढ साहित्यबारे अभियान चलाउनु उचित हुने सुझाव व्यक्त गर्नु भएको थियो । निवृत्त शिक्षक समाजका जिल्ला सचिव अभिमन्यू गौतमको सहजीकरणमा भएको उक्त कार्यक्रममा हरि घिमिरे (गोर्खा), रिषीकेश बराल (कास्की), चुडामणि वली (काठमाडौं), जनाद्र्धन खनाल (मकवानपुर), नारायणी अधिकारी (तनहुँ), ह्यग्रीव आचार्य (मकवानपुर), सूर्यप्रसाद जमरकट्टेल (चितवन), दुर्गा प्रसाद दहाल (रौतहट) लगायतले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा ‘ननिदाएका शिक्षकहरू’ का अभियन्ता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दहालले ‘ननिदाएका शिक्षकहरू’ कार्यक्रम फरक ढङ्गले काम गरिरहेका र सिर्जनात्मक ढङ्गले अघि बढेका शिक्षकहरूलाई उक्त कार्यक्रमले प्रोत्साहित गरिरहेको जानकारी पनि गराउनु भएको थियो ।