हर रात सपनाहरूले पिरोल्छ मलाई ।
हर प्रात विपनाको रापले पोल्छ मलाई ।।
दिनभर दुनियाँको भीडमा एक्लै भौँतारिन्छु ।
हर साँझ अटुट यादले बिथोल्छ मलाई ।।
खोसिदेउ मेरो वर्तमान म विगतको सम्झनामा बाँचिरहने छु ।
चोरिदेउ मेरो ओठको मुस्कान म हृदयभित्र नै हाँसिरहने छु ।।
जतिसुकै टुक्र्याउन सक्छौ टुक्र्याउ तिमी हाम्रा अभिन्नताहरुलाई ।
टुटेफुटेका आशा सँगालेर म आफ्नै शिल्प कलाले गाँसिरहने छु ।।
नजाने प्रेमका कतिपय कहानी हुन्छन् ।
विरहका आँसुले रुझेका सिरानी हुन्छन् ।।
प्राप्ति मात्र नै प्रेमको गन्तव्य होइन ।
गुमेका यादहरु पनि निशानी हुन्छन् ।।
बढ्दो दुनियाँको यो भौतिकतामा ।
मूल्यहीन हुँदै गएको मानवतामा ।।
सोचिरहेको छु म पनि बाँच्न सिकूँ ।
धन, शक्ति र सत्ताको मादकतामा ।।