राहत सामग्री वितरणको कार्य सुरुवात गर्नुहुँदै मेयर महत ।

हेटौंडाः वडा दशैंमा विपन्न समुदायलाई लक्षित गरेर मकवानपुर उद्योग वाणिज्य संघले शनिबारबाट राहत वितरण गर्न सुरु गरेको छ । कोभिड–१९ का कारण प्रभावित विपन्नलाई दशैंको अवसरमा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो । सङ्घका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा घटस्थापनाको दिनबाट राहत वितरणको सुरुवात गरिएको संघले जनाएको छ ।

भौतिक दूरी समेत कायम गरी राखिएको सहयोग सामग्री लिन सहभागी लक्षित समुहका व्यक्तिहरु ।

कार्यक्रममा मेयर महतले राहत वितरण कार्य विपन्नहरुका लागि उपयोगी हुने र आगामी दिनमा सङ्घका कार्यक्रमहरुमा थप सहकार्य गरिने बताउनु भएको छ । मेयर महतले एकजनालाई राहत सामग्री प्रदान गरी राहत वितरण कार्यको शुभारम्भ गर्नुभएको थियो । राहत वितरण कार्यक्रममा कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठ, सल्लाहकार एकालाल श्रेष्ठको आतिथ्यता रहेको थियो । पहिलो दिन शनिबार एक सय एक जनालाई राहत सामग्री वितरण गरिएको मकवानपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको आफ्नै कोष र कार्यसमितिमा रहेका पदाधिकारीबाट केही सहयोग सङ्कलन गरेर राहत वितरण गर्न सुरु गरिएको अध्यक्ष कटुवालले बताउनुभएको छ । हरेक दिन बिहान सीमित र वास्तविक समस्यामा परेकाहरुलाई सहयोग जारी राख्ने पनि उहाँले जानकारी दिनुभएको छ । सङ्घले चिउरा, तेल, बिस्कुट, नुन, मसला, साबुनसहित करिब ६ सय रुपैयाँ बराबरको खाद्यान्न सामग्रीको प्याकेट बनाएर वितरण गरेको छ ।