हेटौंडाः कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई बारा प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । २०४७ सालमा बारा जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेका प्रतिवादी श्याम किशोर कुशवाहलाई बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
२०४४ साल भदौ १२ गते बारा जिल्लाको साविक गाउँ पञ्चायत गोलागञ्ज वडा नम्बर ४ बस्ने जयमङ्गल प्रसाद कोइरीको बारा जिल्लाको साविक पञ्चायत गोलागञ्ज–७ हाल सिम्रौनगढ नगरपालिका–७ बस्ने श्यामकिशोर प्रसाद कुशवाहसहितले समूहले हत्या गरेको अभियोग लागेको थियो । हत्या अभियोगमा २०४७ साल असोज २८ गतेका दिन बारा जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला गरेको थियो । पक्राउ परेका कुशवाहलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरी अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय बीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।