पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ । यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो ? अरुणा लामाको स्वरमा लयवद्ध यो गीतले व्यक्तिको भावुकतालाई मात्रै नसमेटी व्यक्तिको मानसिक स्वास्थ्यमा रहेको समस्यालाई पनि उजागर गरिरहेको छ । मानिसको मनको गति जति तीव्र भयो उत्ति नै जोखिम बढ्छ । समस्यै–समस्याले व्यक्तिको मनलाई अझै अस्थिर र असुरक्षित समेत बनाइरहेको हुन्छ । पछिल्लो समय कोरोना कहरले आम नागरिकको मानसिक स्वास्थ्य खलबल्याएको छ । यहीबेला हेटौंडा अस्पतालमा मनोचिकित्सकको रुपमा सेवा गर्न आउनुभएकी डा. योजना शाक्यसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः मनोचिकित्सकको रुपमा नयाँ सेवा प्रदान गर्नका लागि हेटौंडा आउनुभएको छ । सेवा प्रदान गर्न हेटौंडा अस्पतालमा कस्तो वातावरण पाउनुभयो ?
शाक्यः हेटौंडा अस्पतालमा म आएको हालसालै हो । म हेटौंडा अस्पताल आएको भर्खरै चौध दिन जति भयो । अहिलेसम्म सबै हेर्दा राम्रै लागिरहेको छ । सबै जना उत्साही हुनुहुन्छ । मनोचिकित्सा सम्बन्धी भन्नुपर्दा नयाँ विभाग भएकोले अस्पतालका सबैजना मनोचिकित्सालाई हेटौंडामा व्यवस्थित रुपमा स्थापित गर्ने भनेर लागी पर्नुभएको छ । हाम्रो कुरा पनि भइरहेको छ । भविष्यमा यहाँ मनोचिकित्सा सेवा व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना छ । यस्तै अन्य विभागमा पनि सेवाग्राहीको चाप राम्रो भएको पाएको छु । ओपिडी सेवा मनोचिकित्सा दुबैमा दैनिक सेवाग्राहीको फ्लो उच्च छ ।
समाजः नयाँ काम गर्नुपर्ने हुँदा स्रोत, साधन र त्यसको उपलब्धता कस्तो छ ?
शाक्यः अहिले त अब विभाग नै नभएकोले केही पनि छैन । अहिले हाम्रो ओपिडी सेवा मात्र सुरु भएको छ । यसलाई चाहिने अन्य स्रोतहरु विस्तारै उपलब्ध हुँदै जानेछ । विस्तारै हामी बिरामी पनि भर्ना लिने छौं । निकट भविष्यमा त्यो पनि छिट्टै होला । त्यसपछि हामी क्लिनिकल मनोचिकित्सा सेवा पनि उपलब्ध गराउँछौं । सेवाग्राही धेरै बढ्दै गएमा बच्चा सम्बन्धी छुट्टै विभाग र लागूऔषध प्रयोगकर्ताका लागि पनि छुट्टै विभाग सञ्चालन गर्ने योजना छ ।
समाजः अहिले कोभिडका कारण देखिएको प्रभावका बेला मनोचिकित्साको सेवा कसरी प्रदान गर्न सक्छौं ?
शाक्यः अब यो मानसिक स्वास्थ्यको कुरा गर्दा मानिसहरुमा यसको ज्ञान छैन । लाञ्छना धेरै छन् । कोरोनाले चाहिँ अझ आगोमा घ्यु थपे जस्तै भएको छ । मान्छेहरुमा एउटा चिन्ताको समस्या देखिएको छ । मैले यहाँ हेरेका बिरामीहरुमा पनि यस्तो धेरै समस्या देखिएको छ । सामान्य रोगहरु प्रेसर, सुगर भएका धेरै छन् तर उनीहरुमा पनि कोरोनाको कारणले केही भइहाल्ने हो की भन्ने चिन्ता धेरै छ । यसलाई हेर्दा चाहि मानिसहरुमा जनचेतना फैलाउन अति आवश्यक छ । यसका लागि हामीले मनोपरामर्श सेवा पनि दिनुपर्ने हुन्छ । उनीहरुका लागि भविष्यमा परामर्शदाताको पनि जरुरी हुन सक्छ । अहिलेलाई भन्दा बायो–साइको–सोसल मोडलमा कुरा गर्दा जैविक, बंशाणुगत पनि समस्या हुन सक्लान् । अन्य चाहिँ आर्थिक र सामाजिक पनि समस्या परेका हुनसक्छ । यसमा सामाजिक सहयोगका कुरा हुन्छन् ।
समाजः कुनै एक व्यक्तिमा मानसिक समस्या छ भनेर कसरी थाहा पाउने ?
शाक्यः मानसिक रोगका बारेमा भन्नु पर्दा अन्य सेवा भन्दा फरक छ । अन्य रोगहरु भने रगत जाँच, अनुसन्धानबाट थाहा हुन्छ भने मानसिक रोग यसरी थाहा हुँदैन । यो बिरामीहरुसँग कुरा गरेर उसको लक्षण हेरेर थाहा हुने हो । कतिपय परिवारकै सदस्यहरुलाई पनि थाहा नहुन सक्छ । यसलाई परिवारले याद गर्नुपर्ने कुरा भनेको उसको दैनिक क्रियाकलापमा परिवर्तन आउनु, खाना नखानु, निद्रा नलाग्नु, थकान महसुस हुनु हो । तर यस्तो भएमा चाहिँ परिवारले हेला गर्ने, लागूऔषध खायो भन्ने, झगडा गर्यो भन्छन् । बास्तविकतामा चाहिँ उ एउटा मानसिक रोगले पीडित भएको हुन सक्छ । हामीले विशेष गरेर दैनिक क्रियाकलापमा परिवर्तन, लागूऔषधमा सेवन गर्नु, झैझगडा गर्नुबाट बुझ्नुपर्छ की मानिसक रोग हो कि भनेर ।
समाजः अहिले ओपिडीको सेवा दिइरहँदा कुन उमेर समूहका व्यक्तिमा बढी मानसिक समस्या देखिएको छ ?
शाक्यः मोटामोटी हेटौंडा अस्पतालको कुरा गर्दा ३० देखि ४५ वर्षसम्मका मानिसहरु सेवा लिन आउनुभएको छ । उहाँहरुमा पनि चिन्ताको रोग बढी पाएँ । यसमा फेरि दैनिक जिवनको उत्तारचढाव, कामको कुरा पनि हुन सक्छ ।
समाजः यो मानसिक समस्या आउनै नदिन परिवार, टोल, समुदायका सदस्यले के–के गर्न सक्छन् ।
शाक्यः यसको पहिलो कुरा भनेकै मानसिक रोगका लक्षणहरु के–के हुन सक्छ भन्ने जनचेतना फैलाउनु हो । अनि त्यसलाई कसरी चिन्ने भन्ने हो । परिवारमा कुरा गर्ने, साथीभाइहरुसँग कुरा गर्ने, सपोर्टको कुरा छ भने अर्को कुरा आफ्नो दैनिकी क्रियाकलापको व्यवस्थापन गर्ने, समयमा खाना खाने अभ्यास गर्ने, व्यायाम गर्ने, सकेसम्म लागूपदार्थ र चिया, कफीबाट पनि टाढा रहने । जुन कुराले शरीरमा असर पुर्याइरहेको हुन्छ । यो रसायनको मात्रा तल–माथि गरिदिने तत्वहरुबाट टाढा रहने । राम्रो स्रोतबाट आएका कुराहरु मात्र ग्रहण गर्ने गर्नुपर्छ ।
समाजः चिया, कफीको पनि मानसिक स्वास्थ्यसँग सम्बन्ध छ र ?
शाक्यः चिया, कफी तथा चिसो पेय पदार्थहरुले चिन्ता बढाउन मद्दत गर्छ । चिन्तित भएका मानिसहरुलाई अझ गाह्रो बनाइदिने गर्छ । त्यसकारण सकेसम्म त्यस्तो कुराहरुबाट टाढा रहने । लाइफस्टाइलको कुरामा ध्यान दिनुपर्छ ।
समाजः मनोचिकित्सा सेवा सुरु गर्न प्राविधिक सहयोग र स्रोत साधन उपलब्ध गराउन हेटौंडा अस्पतालको अवस्था कस्तो छ ।
शाक्यः यो मनोचिकित्सा सेवालाई व्यवस्थित तरिकाले अगाडि बढाउने तयारी भएको छ । थुप्रै सेवाहरु थपिने छन् । यसअघि यहाँको मनोचिकित्सका बिरामीहरु कि त काठमाडौं जानुनपर्ने कि त भरतपुर जानुपर्ने अवस्था थियो । कि त कहिलेकाहीँ काठमाडौंबाट डाक्टर आएर हेर्ने, दैनिक फलो–अप सेवा नपाउने रहेछ । यस्तो हुँदा विगत ५ वर्षदेखि नै एउटै औषधीलाई निरन्तरता दिएको पनि पाएँ । कति औषधी भने समयअनुरुप बन्द गर्नुपर्ने हुन्छ । यसमा अलिकति समस्या भएको पाएँ । यसकारण पनि हेटौंडा अस्पतालमा मनोचिकित्सा विभाग स्थापना हुनु राम्रो हो । यसलाई स्थापित गर्न सबै सकारात्मक पनि देखिनुभएको छ ।
समाजः चिकित्सकहरु सरकारी अस्पतालको समयमा भन्दा बढी निजी क्लिनिकमा समय दिन्छन्, केही त सरकारी अस्पतालमा कामै गर्दैनन् भन्ने आरोप लाग्ने गरेको छ । तपाई सरकारी अस्पतलालाई बढी समय दिनुहुन्छ या निजी स्वास्थ्य संस्थामा ?
शाक्यः यसमा भनेको चिकित्सकले सेवा दिने हो । सरकारी अस्पतालको ओपिडी सेवा दिने समय हुन्छ । हामीले त्यो समयमा धेरै भन्दा बढीलाई सेवा दिने हो । मैले तत्कालै निजी स्वास्थ्य संस्थामा रहेर काम गर्ने विषयमा सोचिसकेको छैन ।