Home अन्तरवार्ता ‘मानसिक स्वास्थ्यमा कोरोनाले आगोमा घ्यु थपे जस्तै भएको छ’

‘मानसिक स्वास्थ्यमा कोरोनाले आगोमा घ्यु थपे जस्तै भएको छ’

मनोचिकित्सक डा. योजना शाक्य

पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ । यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो ? अरुणा लामाको स्वरमा लयवद्ध यो गीतले व्यक्तिको भावुकतालाई मात्रै नसमेटी व्यक्तिको मानसिक स्वास्थ्यमा रहेको समस्यालाई पनि उजागर गरिरहेको छ । मानिसको मनको गति जति तीव्र भयो उत्ति नै जोखिम बढ्छ । समस्यै–समस्याले व्यक्तिको मनलाई अझै अस्थिर र असुरक्षित समेत बनाइरहेको हुन्छ । पछिल्लो समय कोरोना कहरले आम नागरिकको मानसिक स्वास्थ्य खलबल्याएको छ । यहीबेला हेटौंडा अस्पतालमा मनोचिकित्सकको रुपमा सेवा गर्न आउनुभएकी डा. योजना शाक्यसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः मनोचिकित्सकको रुपमा नयाँ सेवा प्रदान गर्नका लागि हेटौंडा आउनुभएको छ । सेवा प्रदान गर्न हेटौंडा अस्पतालमा कस्तो वातावरण पाउनुभयो ?
शाक्यः हेटौंडा अस्पतालमा म आएको हालसालै हो । म हेटौंडा अस्पताल आएको भर्खरै चौध दिन जति भयो । अहिलेसम्म सबै हेर्दा राम्रै लागिरहेको छ । सबै जना उत्साही हुनुहुन्छ । मनोचिकित्सा सम्बन्धी भन्नुपर्दा नयाँ विभाग भएकोले अस्पतालका सबैजना मनोचिकित्सालाई हेटौंडामा व्यवस्थित रुपमा स्थापित गर्ने भनेर लागी पर्नुभएको छ । हाम्रो कुरा पनि भइरहेको छ । भविष्यमा यहाँ मनोचिकित्सा सेवा व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना छ । यस्तै अन्य विभागमा पनि सेवाग्राहीको चाप राम्रो भएको पाएको छु । ओपिडी सेवा मनोचिकित्सा दुबैमा दैनिक सेवाग्राहीको फ्लो उच्च छ ।

समाजः नयाँ काम गर्नुपर्ने हुँदा स्रोत, साधन र त्यसको उपलब्धता कस्तो छ ?
शाक्यः अहिले त अब विभाग नै नभएकोले केही पनि छैन । अहिले हाम्रो ओपिडी सेवा मात्र सुरु भएको छ । यसलाई चाहिने अन्य स्रोतहरु विस्तारै उपलब्ध हुँदै जानेछ । विस्तारै हामी बिरामी पनि भर्ना लिने छौं । निकट भविष्यमा त्यो पनि छिट्टै होला । त्यसपछि हामी क्लिनिकल मनोचिकित्सा सेवा पनि उपलब्ध गराउँछौं । सेवाग्राही धेरै बढ्दै गएमा बच्चा सम्बन्धी छुट्टै विभाग र लागूऔषध प्रयोगकर्ताका लागि पनि छुट्टै विभाग सञ्चालन गर्ने योजना छ ।

समाजः अहिले कोभिडका कारण देखिएको प्रभावका बेला मनोचिकित्साको सेवा कसरी प्रदान गर्न सक्छौं ?
शाक्यः अब यो मानसिक स्वास्थ्यको कुरा गर्दा मानिसहरुमा यसको ज्ञान छैन । लाञ्छना धेरै छन् । कोरोनाले चाहिँ अझ आगोमा घ्यु थपे जस्तै भएको छ । मान्छेहरुमा एउटा चिन्ताको समस्या देखिएको छ । मैले यहाँ हेरेका बिरामीहरुमा पनि यस्तो धेरै समस्या देखिएको छ । सामान्य रोगहरु प्रेसर, सुगर भएका धेरै छन् तर उनीहरुमा पनि कोरोनाको कारणले केही भइहाल्ने हो की भन्ने चिन्ता धेरै छ । यसलाई हेर्दा चाहि मानिसहरुमा जनचेतना फैलाउन अति आवश्यक छ । यसका लागि हामीले मनोपरामर्श सेवा पनि दिनुपर्ने हुन्छ । उनीहरुका लागि भविष्यमा परामर्शदाताको पनि जरुरी हुन सक्छ । अहिलेलाई भन्दा बायो–साइको–सोसल मोडलमा कुरा गर्दा जैविक, बंशाणुगत पनि समस्या हुन सक्लान् । अन्य चाहिँ आर्थिक र सामाजिक पनि समस्या परेका हुनसक्छ । यसमा सामाजिक सहयोगका कुरा हुन्छन् ।

समाजः कुनै एक व्यक्तिमा मानसिक समस्या छ भनेर कसरी थाहा पाउने ?
शाक्यः मानसिक रोगका बारेमा भन्नु पर्दा अन्य सेवा भन्दा फरक छ । अन्य रोगहरु भने रगत जाँच, अनुसन्धानबाट थाहा हुन्छ भने मानसिक रोग यसरी थाहा हुँदैन । यो बिरामीहरुसँग कुरा गरेर उसको लक्षण हेरेर थाहा हुने हो । कतिपय परिवारकै सदस्यहरुलाई पनि थाहा नहुन सक्छ । यसलाई परिवारले याद गर्नुपर्ने कुरा भनेको उसको दैनिक क्रियाकलापमा परिवर्तन आउनु, खाना नखानु, निद्रा नलाग्नु, थकान महसुस हुनु हो । तर यस्तो भएमा चाहिँ परिवारले हेला गर्ने, लागूऔषध खायो भन्ने, झगडा गर्‍यो भन्छन् । बास्तविकतामा चाहिँ उ एउटा मानसिक रोगले पीडित भएको हुन सक्छ । हामीले विशेष गरेर दैनिक क्रियाकलापमा परिवर्तन, लागूऔषधमा सेवन गर्नु, झैझगडा गर्नुबाट बुझ्नुपर्छ की मानिसक रोग हो कि भनेर ।

समाजः अहिले ओपिडीको सेवा दिइरहँदा कुन उमेर समूहका व्यक्तिमा बढी मानसिक समस्या देखिएको छ ?
शाक्यः मोटामोटी हेटौंडा अस्पतालको कुरा गर्दा ३० देखि ४५ वर्षसम्मका मानिसहरु सेवा लिन आउनुभएको छ । उहाँहरुमा पनि चिन्ताको रोग बढी पाएँ । यसमा फेरि दैनिक जिवनको उत्तारचढाव, कामको कुरा पनि हुन सक्छ ।

समाजः यो मानसिक समस्या आउनै नदिन परिवार, टोल, समुदायका सदस्यले के–के गर्न सक्छन् ।
शाक्यः यसको पहिलो कुरा भनेकै मानसिक रोगका लक्षणहरु के–के हुन सक्छ भन्ने जनचेतना फैलाउनु हो । अनि त्यसलाई कसरी चिन्ने भन्ने हो । परिवारमा कुरा गर्ने, साथीभाइहरुसँग कुरा गर्ने, सपोर्टको कुरा छ भने अर्को कुरा आफ्नो दैनिकी क्रियाकलापको व्यवस्थापन गर्ने, समयमा खाना खाने अभ्यास गर्ने, व्यायाम गर्ने, सकेसम्म लागूपदार्थ र चिया, कफीबाट पनि टाढा रहने । जुन कुराले शरीरमा असर पुर्‍याइरहेको हुन्छ । यो रसायनको मात्रा तल–माथि गरिदिने तत्वहरुबाट टाढा रहने । राम्रो स्रोतबाट आएका कुराहरु मात्र ग्रहण गर्ने गर्नुपर्छ ।

समाजः चिया, कफीको पनि मानसिक स्वास्थ्यसँग सम्बन्ध छ र ?
शाक्यः चिया, कफी तथा चिसो पेय पदार्थहरुले चिन्ता बढाउन मद्दत गर्छ । चिन्तित भएका मानिसहरुलाई अझ गाह्रो बनाइदिने गर्छ । त्यसकारण सकेसम्म त्यस्तो कुराहरुबाट टाढा रहने । लाइफस्टाइलको कुरामा ध्यान दिनुपर्छ ।

समाजः मनोचिकित्सा सेवा सुरु गर्न प्राविधिक सहयोग र स्रोत साधन उपलब्ध गराउन हेटौंडा अस्पतालको अवस्था कस्तो छ ।
शाक्यः यो मनोचिकित्सा सेवालाई व्यवस्थित तरिकाले अगाडि बढाउने तयारी भएको छ । थुप्रै सेवाहरु थपिने छन् । यसअघि यहाँको मनोचिकित्सका बिरामीहरु कि त काठमाडौं जानुनपर्ने कि त भरतपुर जानुपर्ने अवस्था थियो । कि त कहिलेकाहीँ काठमाडौंबाट डाक्टर आएर हेर्ने, दैनिक फलो–अप सेवा नपाउने रहेछ । यस्तो हुँदा विगत ५ वर्षदेखि नै एउटै औषधीलाई निरन्तरता दिएको पनि पाएँ । कति औषधी भने समयअनुरुप बन्द गर्नुपर्ने हुन्छ । यसमा अलिकति समस्या भएको पाएँ । यसकारण पनि हेटौंडा अस्पतालमा मनोचिकित्सा विभाग स्थापना हुनु राम्रो हो । यसलाई स्थापित गर्न सबै सकारात्मक पनि देखिनुभएको छ ।

समाजः चिकित्सकहरु सरकारी अस्पतालको समयमा भन्दा बढी निजी क्लिनिकमा समय दिन्छन्, केही त सरकारी अस्पतालमा कामै गर्दैनन् भन्ने आरोप लाग्ने गरेको छ । तपाई सरकारी अस्पतलालाई बढी समय दिनुहुन्छ या निजी स्वास्थ्य संस्थामा ?
शाक्यः यसमा भनेको चिकित्सकले सेवा दिने हो । सरकारी अस्पतालको ओपिडी सेवा दिने समय हुन्छ । हामीले त्यो समयमा धेरै भन्दा बढीलाई सेवा दिने हो । मैले तत्कालै निजी स्वास्थ्य संस्थामा रहेर काम गर्ने विषयमा सोचिसकेको छैन ।

Exit mobile version