हेटौंडाः दसैं आउन १ सातामात्र बाँकी हुँदा दसैंको किनमेल गर्ने मानिसको भिड हेटौंडा बजारमा भने पातलो देखिएको छ । हेटौंडाको राप्तिरोड, बसपार्क लगायतको स्थानमा खाद्यान्न तथा कपडा पसलहरुमा थोरै संख्यामा मात्र मानिसहरुको भिडभाड देखिन्छ । कोरोना माहामारीको कारणले गर्दा हेटौंडा बजारमा सामान किन्ने मानिसको भिड कमै देखिएको हो ।
हेटौंडाको भाँडाकुडा पसल, इलेक्ट्रीक पसल, कपडा पसल र खाद्यान्न पसलहरुमा मात्रै थोरै संख्यामा मानिसहरु देखिएका छन् । अन्य पसलहरुमा भने व्यवसायी ग्राहकको प्रतिक्षामै रहेका छन् । गएको वर्षको अहिलेको समयमा दसैंमा बजारमा अत्याधिक भिडभाड हुने गरेको थियो भने व्यापार पनि उत्तिकै हुने गरेको सुनाउहुन्छ हेटौंडा बसपार्कका कपडा व्यवसायी विश्वास पराजुली । अहिले कोरोना भाइरसका कारण मानिसहरु कपडा खरिद गर्न पनि कमै आएको उहाँको भनाई छ । अहिले पसल खोलेपनि व्यापार भने मध्यम भएको उहाँले बताउनुयभो । यस्तै हेटौंडा बजारका अर्का व्यवसायी विजय लामाले भने केही दिनमा भिडभाड बढ्न सक्ने बताउनुभयो । दसैं आउन १ हप्ता अगाडि सम्म पनि मानिसहरु किनमेल गर्न सिमित मात्र आएका छन् ।
मकवानपुरका ग्रामिण क्षेत्रबाट ग्राहकहरु बजारमा कमै निस्कीएका छन् । हेटौंडा बजारमा मकवानपुरका अन्य स्थानीय तहका मानिसहरुको उपस्थिति कम हुँदा भिडभाड कम देखिएको बताउनुहुन्छ स्थानीय हरि कार्की । अहिले सुरक्षित भएर घरमै बस्नुपर्ने भएको बताउनुहुँदै उहाँले भिडभाड नभएको ठिक भएको बताउनुभयो । यता केही व्यवसायीहरुले भने दसैंमा पनि भनेजस्तो व्यापार नहुँदा घाटा हुने देखिएको जनाएका छन् ।