हेटौंडाः बागमती प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेर प्रदेशभित्रका आमा बाबुबिहिन बालबालिकाहरुलाई मासिक भत्ता दिने जनाएको थियो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यससम्बन्धी कार्यविधि बनाएर बालबालिकालाई भत्ता वितरणको कार्य कार्यँन्वयन गर्न प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहलाई बजेट पठाएको छ । स्थानीय तहहरुले भने आफ्नो क्षेत्रभित्र रहेका अभिभावकबिहिन बालबालिकालाई मासिक भत्ता २ हजार उपलब्ध गराउन तथ्याङ्क सङ्कलनको कार्य सुरु गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कार्यक्रम कार्यान्वयनका लागि पत्राचार गरेसँगै प्रदेशका ११९ वटै स्थानीय तहले अभिभावकबिहिन बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न वडा वडामा पत्राचार गरेको छ । सिमित बालबालिकाहरुलाई पुग्ने गरी वार्षिक बजेट सामाजिक विकास मन्त्रालयले स्थानीय तहलाई पठाइसकेको सामाजिक विकास मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत इन्दिरा ओझाले बताउनुभयो ।

मन्त्रालयले मासिक भत्ता २ हजार प्रदान गर्ने मन्त्रालयकी ओझाले बताउनुभयो । हरेक चौमासिकमा एक पटक बालबालिकाको हेरचाह गर्नेलाई स्थानीय सरकारले सो रकम प्रदान गर्ने उहाँले बताउनुभयो । प्रदेशको महानगर, उपमहानगर, नगर र गाउँपालिकामा वार्षिक बजेट पठाएपनि माग भएर आएमा प्रदेशले त्यस्ता बालबालिकाहरुलाई भत्ता उपलब्ध गराउने भएको उहाँको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिकाले भने मन्त्रालयले १ लाख २० हजार रकम भत्ता वितरणको लागि पठाएको बताएको छ । हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका विकास महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार ५ जनालाई १ वर्षसम्म पुग्ने गरी मन्त्रालयले रकम पठाएको छ । ५ जनालाई मासिक १० हजारका दरले वार्षिक १ लाख २० हजार पठाएको उहाँको भनाइ छ । यद्यपि हेटौंडा उपमहानगर क्षेत्रमा भने आमा बाबुबिहिन बालबालिका कति छन् भनेर तथ्याङ्क सङ्कलन गर्न वडा वडामा सूचना जारी गरेको र विवरण भने आइनसकेको उहाँले बताउनुभयो । आउँदो कात्तिक ६ गतेसम्म हेटौंडाका १९ वटै वडाले नगरमा त्यस्ता बालबालिकाहरुको सिफारिस गर्ने भएको छ ।

तर मन्त्रालयले हेटौंडामा बाल सुधार गृहमा रहेका अन्य जिल्लाका बालबालिका, परिवारको सम्पर्कमा नभएको बालबालिका तथा विभिन्न संरक्षणमा रहेको बालबालिकाको हकमा भने के गर्ने भन्ने स्पष्ट नगरेको प्रमुख लामिछानेले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले थोरै सङ्ख्यामा त्यस्ता बालबालिकाको तथ्याङ्क प्राप्त भएमा छलफल गरेर सबैलाई भत्ता वितरण गर्ने जनाएको छ । तर त्यस्ता बालबालिकाको सङ्ख्या धेरै भएमा भने मन्त्रालयसँग थप बजेटको लागि समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो ।

आमा बाबु दुबै मृत्यु भएको वा दुबै बेपत्ता भएको, १८ वर्ष पूरा नगरेको, ५ वर्ष उमेर पूरा गरेका बालबालिकाको हकमा विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको, कुनै गैरकानुनी वा आपराधिक कार्यमा संलग्न नभएका बालबालिकाले मात्र मासिक २ हजार भत्ता पाउने छन् । यस्तै हेटौंडा उपमहानगरले यस्तो कार्यक्रम अब आगामी आफ्नो नीति तथा योजनामा पनि राख्न पहल गर्ने महाशाखाकी प्रमुख लामिछानेले जानकारी दिनुभयो ।