कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण २०७६ साल चैत ११ गतेदबाट लकडाउन घोषणा गरेदेखि रोकिएको क्रिकेट खेलको नियमित प्रशिक्षण हेटौंडामा केहीदिनबाट सुचारु भएको छ । नियमित प्रशिक्षणका लागि खेलाडीहरुले नै चिन्ता व्यक्त गरेपछि सुरक्षा सतर्कताका साथ नियमित प्रशिक्षण सुरु गरिएको छ । लकडाउन घोषणा गर्नु भन्दा अगाडिको समयको तुलना आधा सङ्ख्यामा मात्रै खेलाडी सहभागी भइरहेको प्रशिक्षक सञ्जय महर्जन बताउनुहुन्छ । क्रिकेट खेलको नियमित प्रशिक्षण सुचारु गरिएको सन्दर्भमा समाज सम्पादक सुरेश श्रेष्ठले क्रिकेट प्रशिक्षक सञ्जय महर्जनसँग गर्नुभएको कुुराकानीः
समाजः ७ महिनापछि क्रिकेट खेलको प्रशिक्षण सुचारु गर्नुभएको छ । कहिलेदेखि र कसरी प्रशिक्षण सञ्चालन गर्दैहुनुहुन्छ ?
महर्जनः यो कोरोनाको महामारी सुरु भएदेखि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षण नगर्नु भनेको हुनाले हामीले त्यतिबेलादेखि नै प्रशिक्षण रोकेका थियौं । खेलाडीहरुको भविष्य डामाडोल हुने देखिएपछि अब के कसरी गर्ने भनेर खेलाडीहरुले सोधी रहेकाले हामीले २ हप्ता अघिदेखि प्रशिक्षण सुरु गरेका हौं । अहिले २० जना खेलाडीहरु नियमित प्रशिक्षणमा सहभागी छन् । जसमध्ये १ जना महिला र १९ जना पुरुष रहेका छन् । बिहान र बेलुका गरी प्रशिक्षण गराइरहेका छौं । प्रधानमन्त्री कप मङ्सिर महिनामा हुन्छ भनेर तोकिसकेको हुनाले त्यसका लागि प्रशिक्षण सुरु गरेका छौं ।
समाजः प्रशिक्षणस्थलमा तपाईहरुले के कस्तो सतर्कता अनाइराख्नु भएको छ ?
महर्जनः हामीहरुले पहिला सुरुमा मास्क लगाएर प्रशिक्षण गराइरहेका छौं । भौतिक दूरी क्रिकेटमा फिल्डिङ् व्याटिङ् गर्दा त्यसमा दूरी कायम भइहाल्छ । हामीले कुलडाउन गर्ने, फिजिकल फिटनेश गर्दा भौतिक दूरी कायम गरेरै प्रशिक्षण गराइरहेका छौं ।
समाजः लकडाउन हुनुभन्दा अगाडि र अहिले प्रशिक्षणमा आउने खेलाडीको संख्यामा घटी–बढी कस्तो अवस्था छ ?
महर्जनः खास हामीले यो भन्दा अगाडि एउटा सेलेक्सन म्याच भनेर राखेका थियौं । तीनवटा म्याच गराउँदा खेलाडीहरु धेरै थियो । त्यसबेला हाम्रो बागमती प्रदेशस्तरीय खेल खेलाउने भनिएको थियो । त्यसको तयारी हुँदा हामीसँग ४०/५० जनाको हाराहारीमा खेलाडी थिए । अहिले २० जना छन् । टाढा–टाढाका खेलाडीहरु, जिल्ला बाहिरका खेलाडी पनि यहाँ बस्दा प्रशिक्षणमा सहभागी हुन्थे । जिल्ला बाहिरका खेलाडी अहिले आफ्नो जिल्लामा छन् । उनीहरु आउन पाएका छैनन् ।
समाजः अहिले तपाईहरुले नियमित प्रशिक्षण गरी राख्नु भएको छ । यो मुख्यगरी प्रधानमन्त्री कपको तयारीको रुपमा हेरिराख्नु भएको हो ?
महर्जनः यो प्रधानमन्त्री कपको तयारी पनि भन्नुपर्यो र खेलाडीहरु अब घरमा बसेर आफैंले सामान्य अभ्यास गर्दा पर्याप्त नहुने भएकोले उनिहरुको भविष्य नै जोखिममा पर्ला भनेर पनि प्रशिक्षण सुरु गरिएको हो । १९ वर्ष समूहमा खेल्नुपर्ने खेलाडीहरुले यो वर्ष खेल्न नपाउने भइसक्यो । अब सिनियरको लागि धेरै मिहिनेत गर्नु पर्छ भनेर आफैंले सोचिसकियो । अब हामी खेल्नु पर्छ भनेर उनीहरुले आफैं पनि चिन्तित भएर प्रशिक्षणमा सहभागी भएका छन् ।
समाजः प्रतियोगिता हुने सम्भावनास्वरुप त्यसको तयारीका लागि पनि प्रशिक्षण हुँदैछ । जिल्लामै पनि प्रतियोगिता आयोजना गर्ने तयारी केही हुन सक्छ ?
महर्जनः अब खासमा प्रशिक्षण गर्ने वातावरण नै मिलेको छैन । तर पनि हामीहरुले जबर्जस्ती प्रशिक्षण गरिरहेका छौं । किनकि चौर हेर्न जाँदा झाडी बढेको छ । भर्खरै फोहोरहरु जलाएर रोलर लगाई क्रिकेट सुरु गरेका छौं । नगरपालिका, स्थानीय सरकार, वडा कार्यालयले मद्दत गरिदिएको भए हामीलाई सजिलो हुन्थ्यो । हामीलाई काठमाडौं, चितवनले म्याच खेल्नका लागि फोन गरिरहेको छ । तर बोलाउन पनि सकिँदैन । किन कि हामीसँग खेल मैदान छैन । भएको एउटा ग्राउण्ड पनि गाई–भैंसी चराउने जस्तो हालत भएको छ ।
समाजः खेलाडीको मनस्थिति कस्तो देख्नुभएको छ ?
महर्जनः अस्ति मैले प्रशिक्षण गराइरहेको थिएँ । हामीले केजमा खेल्यौं । केज हाम्रो पूर्णरुपमा तयार भएको छैन । केजमा मात्र खेल्दा स्ल्याबमा बल आउँछ अरु पिचमा जाँदा ट्रफहरुमा खेल्दाखेरी रोकिएर आउँदाखेरी खेलाडीहरुको मनस्थिति अनुसारको ट्रफमा खेल्नुपर्छ भनेर ट्रफमा सुरु गर्न लागेको हो । तर यसका लागि कसैले सहयोग गरेको छैन । खेलाडीहरु आफैले सामान किन, बल किन, आफैंले गर सहयोग कतैबाट छैन । कमसेकम स्थानीय सहयोग दाताहरु पनि हुनुपर्छ । खेल्ने उत्साह बढाउन सकिएको छैन ।
समाजः तपाईहरुले सहयोगका लागि कहाँकहाँ पहल गर्नुभयो ? प्रदेश सरकारसँग तपाईहरुले केही प्रस्ताव गर्नुभएको छ ?
महर्जनः हामीलाई नगरपालिकाले सहयोग गर्ने हो । तर, मुख्य कुरा केन्द्रबाट केही पनि सहयोग छैन । ग्राउण्डका लागि मुख्यमन्त्री मार्फत हामीले गएका थियौं । गौरीटारमा डिपिआर तयार भएको छ । तर त्यहाँ फुटबलको अन्तर्राष्ट्रिय ग्राउण्ड हुने भएकोले त्यहाँ अलिकति गाह्रो हुने भयो । त्यसपछि पिप्लेमा ग्राउण्ड दिने कुरा भयो । हामीलाई १४ नम्बर वडा अध्यक्षले जग्गा छ, हेर्न आउनु भन्नुभएको थियो । तर जग्गा सानो भएको हुनाले हामीलाई उपयुक्त भएन । राम्रो विकल्प भनेको हुप्रचौर मात्र रहेको छ । त्यसलाई सकेसम्म मर्मत गर्न पाए भने हामीलाई खेल्नयोग्य, कम से कम जिल्लास्तरीय प्रतियोगिता गर्न पाउने थियौं ।