हेटौंडाः मकवानपुरमा खोलाले बगाउँदा तीनजनाको मृत्यु भएको छ । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१९, भीमफेदी गाउँपालिका–१, त्रिखण्डी र कैलाश गाउँपालिकाको चौकीटारमा एक एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
प्रहरी प्रवक्ता रानाका अनुसार शुक्रबार साँझ हेटौंडा–१९ स्थित ज्यामिरे खोलाले बगाउँदा ४५ वर्षीया पुतलीमाया घलानको मृत्यु भएको हो । हेटौंडा–१९, ज्यामिरेस्थित माईती घरबाट हेटौंडा–१९ कै कालिकाटारस्थित घर फर्कने क्रममा साँझ ६ बजेको समयदेखि सम्पर्कबिहिन भएकी घलानको शव आज बिहान ११ बजेको समयमा ज्यामिरे खोला किनारमा बरामद भएको प्रहरीले जनाएको छ । नगरको उत्तरपश्चिम क्षेत्रमा पर्ने घटनास्थलमा मनहरी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ ।
यसैगरी आज शनिबार दिउँसो साढे २ बजेको समयमा भीमफेदी गाउँपालिका–१, भैंसेस्थित त्रिखण्डेश्वर महादेव मन्दिर भ्रमणका लागि आएकी पर्सा जिल्ला बीरगन्ज महानगरपालिका–९ की १७ वर्षीया प्रियंका साहको त्रिखण्डी खोलाले बगाउँदा मृत्यु भएको छ । परिवारसहित आएकी प्रियंका नुहाउन लाग्दा खोलाले बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएकी प्रियंकालाई सुरक्षाकर्मी र स्थानीयले उद्दार प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।
यस्तै मकवानपुरको कैलाश गाउँपालिका–५ स्थित गोगनेमा चौकीटार खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । खोलाले बगाउँदा स्थानीय ३८ वर्षको धावा स्याङ्तानको मृत्यु भएको हो । स्याङतान ५ नम्बर वडा कार्यालय गोगनेबाट घर फर्कने क्रममा हिजो शुक्रबार बेलुका खोला तर्न खोज्दा खोलाले बगाएर मृत्यु भएको कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले बताउनुभयो । चौकिटार खोलाले बगाएर स्याङ्तानलाई बिमिरे खोलासम्म पुर्याएको थियो । स्थानीयले देखेर खबर गरेपछि प्रहरी, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लागयत ५ नम्बर वडाध्यक्ष लगायतको टोली घटनास्थलमा पुगेको थियो ।