हेटौंडाः बागमती प्रदेशका ३ सय ५८ विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू हुने भएको छ । प्रदेश सरकार गठन भएको वर्ष नमूनाको रुपमा २० वटा विद्यालयमा सुरु भएको विद्यालय नर्स कार्यक्रम गत आर्थिक वर्षमा १ सय १ विद्यालयमा विस्तार गरेर १ सय २१ विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालित थियो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले थप २ सय ३७ विद्यालयमा नर्स कार्यक्रम विस्तार गरेसँगै विद्यालयमा नर्स कार्यक्रम ३ सय ५८ विद्यालयमा सञ्चालन हुने भएको बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिनुभएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका सबै माविमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने महाशाखा प्रमुख विष्टले बताउनुभएको छ । विद्यालय नर्स कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको विष्टले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७७/७८ मा सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा दुईवटा विद्यालयलाई विद्यालय नर्स कार्यक्रमका लागि छनोट गरेको छ । मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै विद्यालय नर्स कार्यक्रमका लागि छनोट भएका बागमती प्रदेशका ११९ स्थानीय तहका २३७ विद्यालयको सूचि सार्वजनिक गरेको छ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकाको एउटा मात्रै विद्यालय छनोट भएको छ भने अन्य स्थानीय तहबाट दुई/दुई वटा विद्यालय छनोट भएको छ ।

मंगलबार मन्त्रीस्तरीय निर्णयबाट मकवानपुरका १० स्थानीय तहका २० विद्यालय छानिएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको बत्सलादेवी मावि र महाचुनी मावि, कैलाश गाउँपालिकाको भवानी मावि र धुवाङ मावि, थाहा नगरपालिकाको बागेश्वरी मावि र बज्रबाराही मावि, बागमती गाउँपालिकाको बागमती मावि र देवकी मावि, भीमफेदी गाउँपालिकाको राष्ट्रिय मावि र महालक्ष्मी मावि, मकवानपुरगढी गाउँपालिकाको भानु मावि र बंशगोपाल मावि, मनहरी गाउँपालिकाको पशुपतिनाथ मावि र राष्ट्रिय मावि, राक्सिराङ गाउँपालिकाको कालिका मावि खैराङ र कालिका मावि राक्सिराङ, बकैया गाउँपालिकाको बुद्ध मावि र कान्ति मावि, हेटौंडा उपमहानगरपालिकाको बालज्योति मावि र जनप्रिय मावि विद्यालय नर्स कार्यक्रमका लागि छनोट भएका छन् ।

विद्यालय नर्स कार्यक्रममा परिचालन गर्न सामाजिक विकास मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरेर नर्स नियुक्तिका लागि आवेदन माग गरेको छ । करारमा नायव सुब्बा सरहको तलब सुविधा हुने गरी आवेदन आव्हान गरिएको छ । नायव सुब्बासरहको सुविधा पाउँदा स्टाफ नर्सले मासिक २८ हजार २ सय रुपैयाँ तलब प्राप्त गर्नेछ । निजी स्वास्थ्य संस्थामा न्यूनतम सुविधाका साथ काम गरिरहेका स्टाफ नर्सहरुलाई प्रदेश सरकारको कार्यक्रमले आकर्षक रोजगारी समेत दिलाउनेछ ।

बागमती प्रदेश सरकारले विद्यालयमा स्टाफ नर्सको उपस्थितिले विद्यालयमा प्राथमिक उपचारका साथै स्वास्थ्य तथा सरसफाईमा सुधार हुनुका साथै स्वास्थ्य शिक्षामा पनि प्रभावकारी हुने अपेक्षा गरेको छ । चालु आर्थिक वर्षमा कोभिड महामारीका कारण विद्यालय नर्स कार्यक्रम विस्तारको प्रक्रिया सुरु गर्न करिब एक महिना ढिलाई भएको महाशाखा प्रमुख सतिश विष्टले बताउनुभएको छ ।