हेटौंडाः हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत देउराली–कुलेखानी सडकखण्डको बतासे भन्ने स्थानमा पहिरोले एउटा स्कोर्पियो गाडी पुरिएको छ । आज बिहान करिब ८ बजेको समयमा आएको पहिरोमा परी काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कोर्पियो पुरिएको स्थानीय सुमन श्रेष्ठले जानकारी दिनुभएको छ ।
पहिरोले पुरिएको स्कोर्पियोका चालकको पहिरोसँगै खसेको ढुंगाले किचिएर मृत्यु भएको बताइएको छ । पहिरोमा परी बा ९७ प ४८५१ नम्बरको मोटरसाइकल पनि पुरिएको र मोटरसाइकलमा सवार दुईजनाको खुट्टा भाँचिएर उपचारका लागि काठमाडौं पठाइएको स्थानीय सुमन श्रेष्ठले जानकारी दिनुभएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली र उद्दारका लागि एम्बुलेन्स पुगेको छ ।
ठूलो पहिरो गएका कारण अझ बढी क्षति भएको हुन सक्ने स्थानीयको भनाइ छ । प्रदेश सरकारले भीमफेदी कुलेखानी सडकखण्ड फराकिलो बनाइरहेको र हिजो दिउँसोदेखिको भारी वर्षाका कारण पहिरो गएको हो ।